मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनि छन् । हालै सम्पन्न निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै संसद् पुगेका गौतमले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका थिए ।
देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्मिएको हो । बुबा पूर्णप्रसाद गौतम र आमा जितकुमारी गौतमका सन्तान उनि पारिवारिक तथा सामाजिक जीवनसँगै सार्वजनिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । शिक्षालाई समाज रूपान्तरणको आधार मान्ने गौतमले शिक्षाशास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल उनी विद्यावारिधि (पिएचडी) अध्ययनरत छन् । शैक्षिक क्षेत्रमा उनको लामो अनुभव रहेको छ ।
देवचुली कलेज रजहरमा विसं २०७१ देखि २०७७ सम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहँदा उनले कलेजको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युवा नेतृत्व र उद्यमशीलताका क्षेत्रमा पनि उनि सक्रिय रहेको छ । युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका केन्द्रीय उपाध्यक्ष रहेका गौतम रजहर जेसिज–२०२० का अध्यक्ष तथा नेपाल जेसिजका पूर्वकेन्द्रीय उपाध्यक्ष (२०२१) रहेको छ ।
जेसिजमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै उनले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म युवालाई सङ्गठित गर्ने प्रयास गरेको थियो । साथै सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सञ्चालक समिति सदस्यका रूपमा स्वास्थ्य क्षेत्रमा पनि योगदान दिएको छ ।
विभिन्न विद्यालयमा शिक्षक तथा शैक्षिक संस्थामा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उनले शिक्षा क्षेत्रसँगको सम्बन्ध निरन्तर कायम राखेका । युवा र सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित गरेको थियो ।
राजनीतिक रूपमा सक्रिय गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति रहेको छ । नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्दै सुशासन, पारदर्शिता र विकासको मुद्दा उठाउँदै आएका गौतमलाई यसपटक नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ का मतदाताले प्रतिनिधिसभामा पठाएका छन् ।
स्थानीय तहदेखि शिक्षा, युवा अभियान र सामाजिक क्षेत्रको अनुभव बोकेर सङ्घीय संसद्मा पुगेका गौतमले जिल्लाको विकास, रोजगारी सिर्जना र शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।
स्थानीय सरोकारसँग नजिक रहेर सार्वजनिक जीवन बिताएको उहाँको राजनीतिक यात्राले अब सङ्घीय संसद्मा नयाँ जिम्मेवारी पाएको छ ।


