काठमाडौं ।पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक सेयर (आईपीओ) फागुन २९ गते बिहान बाँडफाँड हुने भएको छ।
कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड गरिनेछ।
यस क्रममा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन्। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो।
कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ।
यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।


