काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका हुन् ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको छ । तर प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए ।
इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहोर्याएका उल्लेख गरेका छन् ।
डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेका हुन् ।
यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ । पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महत्त्वपूर्ण नभएको बताएका थिए ।
ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उनबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागी भएका थिए ।
यसैबीच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शङ्का व्यक्त गरेको छ । इरानका फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले मङ्गलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने सङ्केत दिए ।
विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ ।
यदि इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ ।
यता अस्ट्रेलियामा जारी महिला एसियाली कपका क्रममा पनि इरानी टोलीसँग सम्बन्धित विवाद उत्पन्न भएको छ । मङ्गलबार प्रतियोगितामा सहभागी इरानी महिला फुटबल टोलीका केही खेलाडीहरूले शरण मागेका छन् ।
एक खेलअघि राष्ट्रिय गान नगाएको भन्दै राज्य टेलिभिजनबाट आलोचना भएपछि टोलीका केही सदस्यहरूले अस्ट्रेलियामा बस्ने प्रयास गरेका थिए । कप्तान जह्रा घनबारीसहित पाँच खेलाडी रातको समयमा टोली बसेको होटलबाट निस्केर अस्ट्रेलियाली अधिकारीहरूसमक्ष शरण माग्न पुगेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार टोलीका कम्तीमा दुई सदस्यले भोलिपल्ट बसोबासका लागि आवेदन दिएका थिए । तर अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बुधबार तीमध्ये एक खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गरेको जानकारी दिए ।


