काठमाडौं । माज सदाकतको उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनमा पाकिस्तानले दोस्रो ओडिआईमा बंगलादेशलाई हराएको छ। मिरपुरमा शुक्रबार भएको पाकिस्तानले बंगलादेशलाई डिएलएस विधिअनुसार १ सय २८ रनले पराजित गर्दै सिरिजमा १-१ को बराबरीमा ल्याएको हो। अब निर्णायक खेल आइतबार शेर ए बंगला नेशनल स्टेडियममा हुनेछ।
बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको पाकिस्तानका सदाकतले आक्रामक सुरुआत गर्दै बंगलादेशका बलरहरूलाई दबाबमा पारे। उनले ४६ बलमा ७५ रन बनाउँदै पाकिस्तानलाई बलियो सुरुआत दिलाए। उनको इनिङ्समा ६ चौका र ५ छक्का समावेश थियो। सदाकत आउट भएपछि पाकिस्तानको रनगति केही सुस्त भयो। यसबीच साहिबजादा फरहान र शामिल हुसेन पनि चाँडै आउट भए। त्यसपछि मोहम्मद रिजवान र सलमान आगाले चौथो विकेटका लागि १ सय ९ रनको साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फ डोर्याए। आगाले ६४ रन बनाए। रिजवानले ४४ रन जोडे।
तर आगा रनआउट भएपछि पाकिस्तानको इनिङ्स कमजोर बन्यो। अन्तिमतिर लगातार विकेट गुमाउँदा पाकिस्तानले अन्तिम ७ विकेट मात्र ४३ रनमा गुमायो।पाकिस्तान ४७.३ ओभरमा २ सय ७४ रनमा अलआउट भयो। बंगलादेशका रिशाद होसैनले ३ विकेट लिए। लक्ष्य पछ्याएको बंगलादेशको सुरुआत निकै खराब रह्यो। टोलीले १५ रनमै ३ विकेट गुमायो। त्यसपछि लिटन दास र तौहिद हृदोयले संघर्ष गरे।
यसैबीच खेलको क्रममा चट्याङ र असिना पानी परेपछि खेल रोकियो र लक्ष्य संशोधन गर्दै बंगलादेशलाई ३२ ओभरमा २ सय ४३ रनको लक्ष्य दिइयो। तर पाकिस्तानका बलरहरू हाबी भए। सदाकतले आफ्नो बलिङमा पनि प्रभाव देखाउँदै ३ विकेट लिए। त्यसपछि हारिस राउफले पनि ३ विकेट लिएपछि बंगलादेश २३.३ ओभरमा १ सय १४ रनमै समेटियो।


