काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।
विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने बताए ।
विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उनले स्पष्ट पारे ।
नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासंघले सहकार्य गरेर एउटा प्रोजेक्ट अगाडि बढाइसकेको जानकारी दिँदै उहाँले संस्थागत लगानीमा जोड दिए ।
मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको ढकालको भनाइ छ ।
महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भिर्त्याउन थुप्रै कानूनहरू परिमार्जन भइरहेको उनले जानकारी दिए ।


