CLI

हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्– प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा त्यहाँ काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको प्रधानमन्त्रीले बताएकी छन्।

‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन्।

नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन्। सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ।

‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ,’ उनले भनिन्।

समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन्।

‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ। ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ। अन्यथा कतैबाट सहयोग भएन। कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ। ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु। अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन्।

प्रधानमन्त्री कार्कीले आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेको उनले भनेकी छन्। उनले आफू अब पुरानै निजी दैनिकीमा फर्किंने पनि बताएकी छन्।

राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नी भन्ने राससको जिज्ञासामा उनले अब अरु कुनै मोह नरहेको बताएकी छन्।

‘मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ। सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो। त्यो पूरा भयो ।

विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन्। नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ,’ उनको भनाइ छ।

देशमा द्वन्द्व र तनावको अवस्था नहोस् भन्ने आफ्नो कामना रहेको उनको भनाइ छ।

‘सबै मिलेर बस्ने वातावरण बनोस्। बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ। केही होला भन्ने आशा छ,’ उनले भनेकी छन्।

Leave Your Comment

Related News