काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ब्रोकर कम्पनीहरुले लगानीकर्ताको सेयर बिक्री रकम समयमा नदिएको भन्दै उजुरी दिनेहरुको ओइरो लागेको छ । धेरै लगानीकर्ताले सेयर बिक्री गरेको थुप्रै समयसम्म पनि रकम नपाएको गुनासो गर्दै बोर्डमा उजुरी दिएका छन् । यस विषयमा बोर्डले गम्भिर ध्यान दिन थालेको छ र समस्या दोहोरिन नदिन नयाँ उपाय खोजिरहेको छ ।
बोर्डका एक अधिकारीले भने, ‘ब्रोकरहरुले चिनजानका आधारमा कोल्याट्रल दिन्छन् । अनि सेयर किनेपछि त्यो मान्छेले मोबाइल नै अफ गर्ने, सम्पर्कमा नआउने हुँदा ब्रोकरलाई पनि समस्या हुन्छ । ब्रोकरले पनि सेयर किने वापत पैसा समयमै पायो भने सेटलमेन्ट सहज हुने हो ।’
उनले यस्तो समस्या देखिए बोर्डले कारबाही गर्ने गरेको पनि बताए । ‘यद्दपि, सबै ब्रोकरहरुमा यस्तो समस्या छैन । केहीमा भने धेरै छ । उधारोको समस्याले गर्दा पनि ब्रोकरले समय पैसा दिन नसकेका हुन । कुनै ब्रोकरले उधारो दिएन वा कोल्याट्रल दिएन भने ग्राहक नै पाउँदैन । त्यसैले ब्रोकरहरुले कोल्याट्रल दिने गरेका छन् । तर, यसले गर्दा आम लगानीकर्ताले नै समस्या भोग्नु परेको छ । त्यसैले यस्तो समस्या नहोस् भन्नका लागि टीएमएसमा बैंक इन्ट्रिगेसन अहिलेको आवश्यकता हो।’
उनले पैसा हुनेले मात्र सेयर किन्न पाउने व्यवस्था हुनु पर्ने बताए । ‘यसले बजारमा भोलुम कम आउला तर वास्तविक नै हुन्छ । यसका लागि बोर्डले छलफल चलाएको पनि छ । बैंक इन्ट्रिग्रेसन लागू भएपछि लगानीकर्ताले सेयर किन्दा पैसा सिधै आफ्नो बैंक खाताबाट कट्टा हुनेछ र बेच्दा रकम बैंकमै क्रेडिट हुनेछ । यसले कारोबार प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी बनाउनेछ ‘, उनले भने ।
विश्वका धेरै विकसित सेयर बजारमा यस्तै प्रणालीहरु सफलतापूर्वक लागू भएका छन् । भारत, अमेरिका, जापान, चीन र सिंगापुरको बजारमा बैंक खातासँग ट्रेडिङ अकाउन्ट सिधै जोडिएको छ । यी बजारमा रियल टाइम सेटलमेन्ट सुविधा रहेकोले लगानीकर्ताले पैसा ढिला प्राप्त गर्ने समस्या हुँदैन ।
यता, नेपाल धितोपत्र बोर्डले पनि बैंक इन्ट्रिग्रेसनका लागि छलफल गरेको छ । बैंक इन्ट्रिग्रेसन लागू भएपछि सेयर किनबेच प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी बन्नेछ । यसले ब्रोकर र लगानीकर्ताबीचको विवाद घटाउने, बजारमा भरोसा बढाउने र दीर्घकालीन रुपमा पुँजी बजारलाई मजबुत बनाउने अपेक्षा जनकारहरुको छ ।
ब्रोकर कम्पनीहरुले पनि बैंक इन्ट्रिग्रेसन नभएसम्म उधारोको समस्या रहिरहने बताउँछन् । केही ब्रोकर कम्पनीका सञ्चालहरुले सार्वजनिक कार्यक्रममा बोल्दै पैसा नदिई सेयर किन्ने व्यवस्था नै गलत भएको र यसलाई सञ्चाइनु पर्ने बताउँछन् ।
एक ब्रोकर कार्यालयका कर्मचारीले भने, ‘बजार बढेको बेला धेरै जनाले कोल्याट्रल हालिदिनु १-२ दिनमा पेमेन्ट गरिदिन्छु भन्दै आउनुहुन्छ । बजार बढयो भने त उहाँहरुले सेयर बिक्री गरेर भए पनि तिर्नुहुन्छ । तर, बजार घट्यो भने सम्पर्कमै आउनुहुन्न । यसले गर्दा हामीलाई बाँकी (ड्यू) उठाउन निकै समस्या पर्छ । त्यसमाथि सेयर बिक्री गरेकाले पनि समयमा पेमेन्ट पाउँदैनन् । तर यस्तो सधैँ हुँदैन, कहिलेकाही भने हामीलाई पनि ड्यूले धेरै गाह्रो पार्ने गरेको छ ।’
त्यसो त, अहिले ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार पनि सुरु गरेका छन् । यसले पनि केही हदसम्म उधारो कारोबार कम हुने देखिन्छ ।
के हो मार्जिन कारोबार ?
सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरुले उपलब्ध गराउँछन् । यसरी ऋण दिए बापत सेयर ब्रोकरहरुले ब्याज अथवा अन्य शुल्कहरु लिने गर्छन् ।
धितोपत्र खरिद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनी मार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबार सम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ ।
मानौं, तपाईसँग १ लाख रुपैयाँ छ र २ लाखको सेयर खरीद गर्नुपर्यो भने बाँकी रकम मार्जिन सुविधाबाट ब्रोकर कम्पनीले कर्जाको रुपमा उपलब्ध गराउनेछ । यसका लागि विभिन्न सर्तहरु पालना गर्नु पर्छ ।


