CLI

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र

म्याग्दी। म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ ।

रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ६ वर्षअघि आयोजना सुरु भएको थियो ।

२०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

रणवाङ–तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो । ढाडखर्क, दरबाङ बजारमा पर्खाल, नाली तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत असार महिनायता सडक निर्माणको काम भएको छैन ।

यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रूपमा पटक–पटक ताकेता गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले बताए ।

म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । दुर्घटनाको जोखिम बढ्नाका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको यातायात व्यवसायी जीवन केसीले बताए ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गतको यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौता लगत्तै कोरोना महामारी, विपद्लगायत कारणले ढिलाइ भएको बताए ।

एकदुई दिनमै मजदुर र उपकरण ल्याएर आउन लागेको थकालीले बताए । अबको एक महिनाभित्र बाँकी काम सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए । बाङ्गेपहिरो प्रभावित सडकलाई ठेक्काबाट हटाइएको छ ।

पहिरो बाहेकका ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको छ । गत आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीमा यो आयोजनामा सबैभन्दा धेरै बजेट विनियोजन भए पनि आर्थिक वर्षको आठ महिनासम्म वित्तीय प्रगति शून्य छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्त्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ ।

गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरे पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए ।

यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई चाँडो पूर्णता दिनुपर्ने बताए ।

Leave Your Comment

Related News