काठमाडौं । नेपाल धितोपत्र बोर्डमा स्पष्ट कानुन नहुँदा हाल नेप्सेमा सूचीकृत भएका भन्दा फरक प्रकृतिका कम्पनीहरुले आइपीओ जारी गर्न पाएका छैनन् । आइटी, हेलिकप्टर, टेलिभिजन, हस्पिटललगायत नयाँ क्षेत्र र फरक ‘बिजनेस नेचर’ भएका कम्पनीहरुको आइपीओ अनुमति नपाएका हुन् ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन नगर्दासम्म यस्ता कम्पनीहरुको आइपीओ पकृया अन्योल नै देखिएको छ । बोर्डको स्रोतका अनुसार आइटी जस्ता कम्पनीहरुको प्रकृया अगाडि नबढ्नुको कारण स्पष्ट नियम नहुनु हो ।
बोर्डका एक अधिकारीले भने, ‘ केहि कम्पनीहरुले आइपीओ जारी गर्नेका लागि बोर्डमा निवेदन दिएका छन् । तर, उनीहरुको प्रकृया अगाडि बढ्न सकेको छैन । आइपीओको पाइपलाइनमा पनि राखिएको छैन । ती मध्ये धेरै जसो हाल सञ्चालनमा रहेका भन्दा फरक र नयाँ विजनेस नेचर भएका कम्पनीहरु छन् ।’
त्यसो त, फरक प्रकृतिका कम्पनीहरुले आइपीओ जारी गर्ने तयारी गरेसँगै बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधन गर्न लागेको थियो । त्यसको लागि पनि समिति बनेको थियो । तर, अहिलेसम्म यसबारे कुनै ठोस निर्णय हुन सकेको छैन ।
आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएका र आइपीओ ल्याउने तयारीमा रहेका केही कम्पनीहरुको व्यापारको प्रकृति नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुको भन्दा फरक छन् । नेप्सेमा बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमा, होटल्स जस्ता कम्पनीहरुको संख्या धेरै छ । तर, अहिले हेलिकप्टर, टेलिभिजन, हस्पिटल, पेन्ट, एग्रोलगायत रेमिटेन्स कम्पनीहरुले पनि आइपीओ ल्याउने तयारी गरेका छन् ।
त्यसैले, नयाँ तथा फरक प्रकृतिका कम्पनीलाई दोस्रो बजारमा प्रवेश गराउन सहज होस् भन्दै नीतिगत तथा कानुनी व्यवस्था मिलाइन लागिएको धितोपत्र बोर्डका एक अधिकारीले बताएका हुन् ।
उनले उदाहरण दिंदै भने ‘हाइड्रोपावर, बैंक, बिमा, हेलिकप्टर, आइटी, कलेज, हस्पिटल जस्ता कम्पनीहरुको बिजनेस नेचर फरक हुन्छ । सबै सेक्टरका कम्पनीहरुको बिजनेस नेचरका आधारमा के के कानुनी व्यवस्था गर्न उपयुक्त हुन्छ भनेर अध्ययन गर्न समिति बनेको छ ।’


