दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई रु सात लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिए ।
शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उनले बताए । विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताए ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।


