बेइजिङ। एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ प्रत्यक्ष उडानहरू पुन : सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको मुख्य स्रोत हो ।
यद्यपि, कोभिड – १९ महामारीको समयमा सीमा बन्द भए पछि सन् २०२० देखि दुई देश बीचको यात्रामा कटौती गरिएको थियो । फ्लाइट सिए – १२१ बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि प्रस्थान गर्ने र सोही दिन फिर्ती उडान गर्ने कार्यक्रम तय गरिएको छ ।
उत्तर कोरियाको सरकारी एयर कोर्योले सन् २०२३ मा बेइजिङबाट प्योङयाङ जाने उडान पुनः सुरु गरेको थियो । चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरियाका लागि भ्रमण प्याकेजहरूको विज्ञापन गर्न थालेका छन्, यद्यपि पर्यटन पुनः सुरु भएको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
पहिलो यात्रुहरू विद्यार्थी, कामदार र सीमापार पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू हुने अपेक्षा गरिएको छ । उडानको घोषणा पर्यटनका लागि आशाजनक भए पनि पश्चिमी पर्यटकहरूका बारेमा अझै कुनै पुष्टि भएको छैन ।
सन् २०१९ पछि पहिलो प्योङयाङ म्याराथनमा भाग लिन केही विदेशी पर्यटकहरूले सन् २०२५ अप्रिल मा उत्तर कोरिया भ्रमण गरेका थिए ।


