काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ढकाल र प्रधानमन्त्री बीच शिष्टाचार भेट भएको हो ।
उक्त भेटमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट अध्यक्ष ढकालले प्रधानमन्त्री कार्कीलाइ बधाई तथा धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्याएको रचनात्मक सहयोगको प्रशंसा गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।


