काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई मातृभूमिमा लगानी गरी नेपालको विकास यात्रामा सक्रिय सहभागी हुन आह्वान गरेकी छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन नेपालको समृद्धिका लागि आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रवासी नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झेर विकास यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्। उनले एनआरएनएको एकताले नेपालको आर्थिक समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मेलनले विश्वभर फैलिएका नेपालीलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश दिएको बताइन्। उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिन्।
प्रधानमन्त्रीका अनुसार नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको छ, जसले मातृभूमि र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सेतुको रूपमा काम गर्नेछ। उनले प्रवासी नेपालीले आफ्नो ज्ञान, सीप, अनुभव र पुँजी नेपालको विकासमा लगानी गर्न सक्ने वातावरण बनेको बताइन्।
नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गरिन्। साथै उनले नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउने साझा लक्ष्य प्राप्तिका लागि प्रवासी नेपालीको भूमिका महत्वपूर्ण हुने बताइन्।
प्रधानमन्त्री कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति आगामी सरकारको प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने भन्दै प्रवासी नेपाली सरकारसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्न तयार रहेको बताए। त्यस्तै संस्थापक अन्तर्राष्ट्रिय संयोजक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी आवश्यक रहेको र प्रवासी नेपाली लगानीका लागि महत्त्वपूर्ण शक्ति भएको बताए।
पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि प्रवासी नेपालीमा देशका लागि केही गर्नुपर्ने भावना बलियो रहेको बताए। अध्यक्ष बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको उल्लेख गर्दै प्रवासी नेपालीलाई पनि यस्तो अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे।
नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले एनआरएनएको एकताले संस्थालाई अझ सुदृढ बनाउँदै प्रवासी नेपालीलाई स्वदेशसँग जोड्ने कामलाई थप प्रभावकारी बनाउने बताए। उनले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
समापन समारोहमा एनआरएनएका पूर्वअध्यक्षहरू तथा विभिन्न देशबाट आएका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै समृद्ध नेपाल निर्माणका लागि सरकार र प्रवासी नेपालीबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।


