काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त आईपीओ बिहान साढे ८ बजे बाँडफाँड हुने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो । अनुमति पाए लगत्तै माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र माघ २० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।
त्यसपछि कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो । आईपीओमा मागभन्दा धेरै मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड हुनेछ । बाँडफाँडमा १ लाख ८४ हजार २६० जना आवेदकले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् ।


