काठमाडौं । मध्यपूर्वमा इजरायल र इरानबीच युद्ध चर्किँदै गएको छ । इजरायलले लेबनानको बेरुत र दक्षिणी बिन्त जबेल क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ भने तेहरानमा नयाँ हवाई हमला भएको छ।
इरानी सेनाका प्रवक्ताले भने “तिमीहरूले सुरु गर्यौ, हामी अन्त्य गर्छौं” भन्दै अमेरिकी र इजरायली हमला विरुद्ध चेतावनी दिएका छन्। इरानले आफ्नो आत्मरक्षाको अधिकारमा जोड दिँदै क्षेत्रीय अमेरिकी सैन्य अड्डा निशाना बनाउने चेतावनी जारी राखेको छ।
लेबनानमा इजरायली सेना स्थानीय बासिन्दालाई घर छोड्न चेतावनी दिइसकेको छ। मिसाइल र ड्रोन आक्रमण खाडी देशहरू कतार, साउदी अरेबिया, यूएई र कुवेतसम्म फैलिएको छ।
युद्धको प्रभावले तेल मूल्य र विश्वव्यापी सुरक्षा स्थितिमा पनि असर देखिन थालेको छ।
यता, इराकको राजधानी बग्दादमा अमेरिकी र इरान समर्थित समूहबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। यूएईको अबु धाबीमा अवरोध गरिएको मिसाइलको भग्नावशेष खस्दा एक व्यक्तिको मृत्यु भएको छ।


