CLI

कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स बिक्री वितरणमा रोक

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम गोकुल मिल्क्स विरुद्ध कारबाही गर्दै बिक्री वितरणमा रोक लगाएको छ।

विभागका अनुसार नियमित अनुगमनका क्रममा कीर्तिपुरस्थित उक्त डेरीले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएको हो। परीक्षणमा उक्त दूधमा फ्याटको मात्रा १.४ प्रतिशत मात्रै भेटिएको थियो, जबकि न्यूनतम मापदण्ड ३.० प्रतिशत हुनुपर्ने व्यवस्था छ।

मापदण्डविपरीत उत्पादन र बिक्री वितरण गरेको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाउँदै बिक्रीका लागि तयारी अवस्थामा रहेको ४९९ क्रेट दूधको बिक्री वितरणमा रोक लगाएको जनाएको छ।

प्रत्येक क्रेटमा ५०० मिलिलिटरका २० पोका दूध रहेको विभागले जनाएको छ। साथै, थप अनुसन्धानका लागि नमूना संकलन गरी प्रयोगशालामा पठाइएको छ।

उक्त दूधको उत्पादन मिति २०८२ फागुन २ गते र ब्याच नम्बर २८६६९ रहेको विभागकी प्रवक्ता बालकुमारी शर्मा ले जानकारी दिइन्।

विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य पदार्थको गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Leave Your Comment

Related News