चितवन। नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् ।
कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् ।
यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उनले जानकारी दिए । “तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ ।
चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भन्नुभयो । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उनले जानकारी दिए ।
गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ ।
विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्याएको उनले बताए । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उनले उल्लेख गरे । प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ ।
बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उनले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए ।
वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ । केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ ।
यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ ।


