काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ ।
द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस खाद्य असुरक्षामा पर्न सक्ने अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरुमा अवरोध सिर्जना हुँदा तेल ढुवानी मात्र होइन, मल बोकेका जहाजहरूको आवतजावत पनि प्रभावित भएको छ, जसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, आश्रय तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको जनाएको छ । लेबनानमा लाखौं मानिसलाई तातो खाना, अत्यावश्यक सामग्री र सफा पानी वितरण गरिएको छ ।
यसैबीच, विस्थापनका कारण १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्, जसमा करिब ३ लाख बालबालिका रहेका छन् । धेरैजसो प्रभावितहरू सार्वजनिक आश्रयस्थल बाहिर नै बस्न बाध्य छन् । स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर परेको छ । आक्रमणका कारण स्वास्थ्यकर्मीहरू मारिनुका साथै अस्पताल तथा स्वास्थ्य पूर्वाधारमा क्षति पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सर्वसाधारण नागरिक तथा सहयोगकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै खाद्य सुरक्षामा समेत गम्भीर चुनौती खडा गरेको देखिएको छ ।


