CLI

ओटीसी मार्केटमा ३ अर्ब २६ करोडको कारोबार, ३१ करोड भन्दा धेरै पुँजीगत लाभकर संकलन हुँदा कुन-कुन कम्पनीको सेयर किनबेच भयो ?

काठमाडौं । ओभर द काउन्टर (ओटीसी) मार्केटमा ३ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । चालु आर्थिक वर्षको ७ महिना अर्थात, माघसम्म ओटीसीमा ३ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार विभिन्न ३० वटा कम्पनीहरुको फरक फरक मितिमा सेयर कारोबार भएको छ ।

स्टक एक्सचेन्जमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको कारोबार ओटीसी मार्केटमा हुने गर्दछ । नेप्सेले नै ओटीसी मार्केट सञ्चालन गर्ने गरेको छ । नेप्सेका अनुसार फोन पे पेमेन्ट सर्भिसको सबैभन्दा धेरै १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।यसको ११ लाख ५२ हजार ११ कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै, होटल फरेस्ट इनको २१ करोड ८२ लाखको सेयर किनबेच भएको छ । यद्दपि, अहिले यस कम्पनीको सेयर नेप्सेमा सूचीकृत भइ सकेको छ । यो सूचीकरण हुनु भन्दा अगाडि गरिएको कारोबार विवरण हो ।

त्यसैगरी, बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डष्ट्रिको १८ करोड ६७ लाख, बुढानिलकण्ठ हेरिटेजको विभिन्न मितिमा २९ करोड ६३ लाख, इलेक्ट्रो पावरको १४ करोड १४ लाख, इसेवाको ४ करोड ९७ लाख, स्रवोत्तम स्टिल्सको विभिन्न मितिमा २६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा १ करोड ६० लाख ८८ हजार ७२९ कित्ता सेयर कारोबार भएको छ ।

७ महिनामा ओटीसी मार्केटमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा लगानीकर्ताले ३१ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये फोनपेको सेयर कारोबार गर्दा सबैभन्दा धेरै पुँजीगत लाभकर उठेको छ ।

यो कारोबारमा सरकारलाई १८ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको छ । इसेवाको सेयर कारोबारबाट सरकारलाई ७ करोड ८२ लाख कर आम्दानी भएको छ । प्रि आइपीओको कारणले नै ओटीसीमा यसरी कारोबार बढेको छ । यहाँ कारोबार हुने धेरै कम्पनीहरुले आइपीओ जारी गर्दैछन् । ती मध्ये केही कम्पनीको संस्थाहरुले लगानीकर्तालाई आइपीओ जारी गर्नु भन्दा अगाडि नै आफूसँग भएको संस्थापक सेयर बिक्री गरेका छन् । सोही सेयर ओटीसी मार्केटमा कारोबार भएको हो ।

सूची 

के हो ओटीसी मार्केट ?

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरुको सेयर पनि किनबेच हुँदै आएको छ । जुन ओटीसी मार्केट वा ओभर द काउन्टर मार्केटबाट सम्भव हुन्छ । तर, त्यसले दोस्रो बजार (सेयर बजार सूचक)को घटबढलाई भने असर गर्दैन ।

सामान्यतयः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरुको धितोपत्रहरुमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर कारोबार हुन्छ । नेप्सेले सूचीकरण खारेज गरेका कम्पनीहरुको धितोपत्र पनि ओटीसी बजारमा कारोबार हुन्छ ।

Leave Your Comment

Related News