काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन नसक्दा त्यसको असर बैंकहरूमा परेको छ। फलस्वरूप, वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति आर्थिक वर्ष २०८१/८२ को ७ महिनमा ४३ अर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा गैर-बैंकिङ सम्पत्ति ४३ अर्ब ४४ करोड ४० लाख रुपैयाँ पुगेको छ।
२० वाणिज्य बैंकमध्ये १९ बैंकसँग मात्र उक्त सम्पत्ति रहेको छ। यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर-बैंकिङ सम्पत्ति शून्य रहेको छ।
२० वाणिज्य बैंकमध्ये ४ बैंकको गैर-बैंकिङ सम्पत्ति घटेको छ भने १५ वटा बैंकको बढेको छ। चालु आवमा सबैभन्दा बढी गैर-बैंकिङ सम्पत्ति हिमालयन बैंकको रहेको छ।
बैंकको उक्त सम्पत्ति ३५.९४ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ९० लाख पुगेको छ। गत वर्ष ४ अर्ब ४८ करोड ७० लाख थियो।
यता, ग्लोबल आइएमई बैंकको ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। गत आवको तुलनामा उक्त सम्पत्ति १२ करोड ८० लाख रुपैयाँले बढेको छ। गत वर्ष ५ अर्ब ८६ करोड १० लाख रुपैयाँ थियो।
त्यसैगरी, नेपाल एसबिआई बैंक र प्राइम कमर्सियल बैंकको गैर-बैंकिङ सम्पत्ति १०० प्रतिशतभन्दा बढीले बढेको छ।
माछापुच्छ्रे बैंकको गैर-बैंकिङ सम्पत्ति ३८.५७ प्रतिशत अर्थात् ३७ करोड ८० लाख रुपैयाँ घटेको छ। गत आवको सोही अवधिमा बैंकसँग ९८ करोड रुपैयाँ थियो भने चालु आवको माघ मसान्तसम्म ६० करोड २० लाख मात्र रहेको छ। त्यस्तै, एभरेष्ट बैंकको उक्त सम्पत्ति ११ प्रतिशतले घटेको छ।
बैंकको चालु आवमा ५१ करोड रुपैयाँ गैर-बैंकिङ सम्पत्ति रहेको छ। गत आवको सोही अवधिमा बैंकसँग उक्त सम्पत्ति ५७ करोड ७० लाख रुपैयाँ थियो।



