CLI

वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ खर्ब नाघ्यो, १४ वर्षमा सवा ६ गुणा वृद्धि

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको पुँजी माघ महिनामा ४ खर्ब २ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यस अवधिसम्म बैंकहरुको पुँजी ३ खर्ब ८४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

बैंकहरुले गत वर्षको नाफाबाट लाभांश स्वरुप बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । वि.स २०६८ मा वाणिज्य बैंकहरुको पुँजी ६५ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ थियो । यसअवधिसम्म आइपुग्दा पुँजी ६.१६ गुणाले बढेर ४ खर्ब रुपैयाँ पार गरेको हो ।

वाणिज्य बैंकहरुलाई वि.स २०७२ सालमा राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउनु निर्देशन दियो । धेरै बैंकहरुले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरे । केहीले बोनस सेयर र एफपीओ जारी गरेर पनि पुँजी वृद्धि गरे । त्यसयता बैंकहरुको लाभांश दरमा निरन्तर जस्तो गिरावट देखिएको छ ।

त्यसमाथि, केही वर्ष अगाडि ठूला वाणिज्य बैंकहरुलाई मर्जरमा जानलाई राष्ट्र बैंकले नै दबाब दियो । बैंकहरुको पुँजी त्यसपछि बढेर ३५ अर्ब भन्दा धेरै पुग्यो । तर, जतिजति पुँजी बढेको त्यति नै लाभांश दरमा गिरावट देखिएको छ । र, बैंकहरुको व्यापार घट्ने र खराब कर्जा पनि यसैगरी बढ्ने हो भने लाभांश क्षमता झनै घट्दै जाने धेरैको विश्लेषण छ ।

त्यसमाथि, धेरै बैंकहरुले सञ्चित नाफाको रकम लाभांश वितरण गरेर रित्याउने गरेका छन् । त्यसले गर्दा केही कम्पनीहरुले एक वर्ष रिटेन्ड अर्निङमा भएजति सबै रकम बोनस वितरण गरेर सक्ने, त्यसपछि २ -३ वर्षसम्म प्रतिफल दिन नसक्ने अवस्था आएको पनि देखिन्छ ।

पुँजी वृद्धिले सेयर बजारमा समेत सीधा प्रभाव परेको छ । पुँजी बढेपछि बजारमा सेयरको संख्या पनि बढ्छ । जसले आपूर्ति वृद्धि गर्छ । जब बजारमा आपूर्ति बढ्छ र माग उस्तै रहन्छ, सेयरको मूल्यमा भने खासै राम्रो सुधार आउँदैन । यही कारण हालका वर्षहरुमा बैंकिङ सेयरहरुको मूल्य घट्ने र स्थिर रहेको छ ।

लाभांश क्षमता आधाले घट्यो

गत आर्थिक वर्ष बैंकहरुको औसत लाभांश वितरण क्षमाता १०.८८ प्रतिशत छ । २०६८-६९ मा यस्तो क्षमता २०.९५ प्रतिशत रहेको सेयर स्कर्निङ सफ्टवेयर स्मार्ट वेल्थ प्रोले जनाएको छ । यसआधारमा लाभांश क्षमात आधाले घटेको छ । यस्तो हुनुमा बैंकहरुको पुँजी बढ्नु रहेको जानकारहरु बताउँछन् ।

एक जना विज्ञले अत्याधिक पुँजी वृद्धिका कारण नै बैंकहरुको लाभांश क्षमता कम हुँदै गएको बताउँछन् । ‘बैंकहरुको चुक्ता पुँजीसँगै सेयर संख्या पनि बढ्न पुगेको छ, ‘उनले उदाहण दिंदै भने, ‘मानौ पहिला बैंकहरुले १ अर्ब कमाउने गरेका थिए, र त्यो नाफा ५ करोड कित्ता सेयरमा बाँड्दा प्रत्येकको भागमा २० रुपैयाँ पर्थ्यो । तर, अहिले बैंकहरु ५-७ अर्ब सम्म कमाएका छन् तर नाफा बाँड्दा प्रत्येकको भागमा १० देखि १५ रुपैयाँ मात्र पर्छ । किनकि, पहिला १ अर्ब रुपैयाँ ५ करोड कित्तामा भाग लाग्ने गरेको थियो । अहिले ५-७ अर्ब ३०-३५ करोड कित्तामा भाग लाग्ने गरेको छ । सेयरको सख्या बढ्यो, त्यसैले नाफाको रकम धेरै कित्तामा भाग लाग्यो ।’

 

Leave Your Comment

Related News