CLI

ट्रम्पको चेतावनीमा इरानको कडा जवाफ

काठमाडौं । खाडी क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले इरानलाई कडा चेतावनी दिँदै यदि स्ट्रेट अफ हार्मोज तुरुन्त पुनः सञ्चालनमा नआए इरानका ऊर्जा तथा विद्युत् संरचनाहरू “पूर्ण रूपमा ध्वस्त पारिने” बताएका छन् । यस चेतावनीपछि इरानले पनि कडा प्रतिउत्तर दिएको छ।

इरानी सेनाको अपरेसनल कमाण्ड खाताम अल-अनबिया ले सार्वजनिक गरेको वक्तव्यअनुसार, यदि इरानको इन्धन वा ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण भएमा त्यसको जवाफमा अमेरिका र उसका क्षेत्रीय साझेदारहरूको ऊर्जा, सूचना प्रविधि तथा पानी शुद्धीकरणसम्बन्धी सबै संरचनाहरूलाई निशाना बनाइनेछ । यो चेतावनी फार्स न्युज एजेन्सी मार्फत सार्वजनिक गरिएको हो ।

स्ट्रेट अफ हार्मोज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो, जहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुन्छ। यसअघि पनि इरान र अमेरिकाबीच बढ्दो तनावका बेला यो जलमार्ग बारम्बार विवादको केन्द्र बन्दै आएको छ।

हालको संकट अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तथा राजनीतिक तनावको परिणामका रूपमा हेरिएको छ। इरानले यसअघि पनि आफ्ना राष्ट्रिय हितमा खतरा देखिएमा खाडी क्षेत्रको आवागमन अवरुद्ध गर्ने चेतावनी दिँदै आएको थियो।

राष्ट्रपति ट्रम्पले इरानलाई ४८ घण्टाको समयसीमा दिँदै जलमार्ग खुला गर्न दबाब दिएका छन्। तर इरानको पछिल्लो अभिव्यक्तिले परिस्थिति झन् जटिल बन्ने संकेत दिएको छ।

इरान र अमेरिकाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। विशेषगरी इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध, र मध्यपूर्वमा प्रभाव विस्तारका विषयले दुवै देशबीच टकराव बढाएको छ।

Leave Your Comment

Related News