काठमाडौं । इरान र अमेरिका-इजरायल द्धन्द्धको असर नेपालको आर्थिक वृद्धिमा पर्ने देखिएको छ । अर्थमन्त्री रामेश्वर खनालले यद्धका कारण नेपाली बजारमा पेट्रोलयम पदार्थको आपूर्ति परिमाण र मूल्य दुवैमा प्रभाव पर्ने बताएका छन् ।
युद्धको तत्काल असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ। यसले नेपाली बजारमा आपूर्ति परिमाण र मूल्य दुवैमा प्रभाव पार्ने छ । आर्थिक वृद्धिमा नकारात्मक असर पनि पर्ने मन्त्री खनालको भनाई छ ।
सरकारले चालु आवको बजेट मार्फत कुल गार्हस्थ उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको थियो ।
अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएसँगै आर्थिक वृद्धिको लक्ष्य पनि संशोधन गरेको हो ।
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ । चालु आव धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावट लगायत कारण बजेटको लक्ष्य अनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने मन्त्रालयले स्पाष्ट पारेको हो । यता विश्व बैंकले भने चालु आवको आर्थिक वृद्धि झनै थोरै २.१ प्रतिशत सीमित हुने प्रक्षेपण गरेको छ ।
उनका अनुसार नेपाल र पश्चिमा मुलुकबीचको यात्राका लागि धेरै नेपालीले खाडी मुलुकका विमानस्थललाई ट्रान्जिट बनाउने गरेका छन् । द्धन्द्धका कारण गैरसैनिक क्षेत्रमा लक्षित गरिएका क्षेप्यास्त्रका कारण विमानस्थलहरू अचानक बन्द गरिएकाले हजारौं नेपाली यात्रु अप्ठ्यारोमा परेको मन्त्री खनालको भनाई छ । ‘द्धन्द्धका कारण केही मुलुकले अल्पकालीन आश्रयको व्यवस्था गरिदिएका छन् । केही ठाउँमा नेपाल सरकारले व्यवस्थापनका लागि हालसम्म २० लाख रूपैयाँ निकासा गरेको छ । यो रकम बढ्न सक्छ ,’ मन्त्री खनालेले भने,‘ खाडी मुलुकहरूमा २० लाख जति नेपालीहरूले रोजगारी तथा पेसा गरेका छन् । यदि युद्ध लम्बियो, रोजगारी र व्यावसायिक अवसर गुम्दै गयो भने, संकटमा परेका नेपालीलाई सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ । यसले सार्वजनिक वित्तमा चाप पर्ने छ । त्योभन्दा बढी असर आर्थिक वृद्धिदरमा पर्ने छ ।’
मन्त्रालयका अनुसार चालु आवको आर्थिक वृद्धि गत आवभन्दा पनि कम हुने भएको हो । गत आव वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ । पछिल्लो समय द्धन्द्धका कारण नेपालको अर्थतन्त्र प्रभावित हुने भए सँगै अर्थमन्त्री खनालले आर्थिक वृद्धिदरमा असर पर्ने बताएका हुन् ।


