काठमाडौं । निर्वाचन आचारसंहिताका कारण केही समय स्थगित भएको नियामक निकायका कर्मचारीहरुको आन्दोलन फेरि सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरुले आन्दोलनलाई पुनः सुरु गरेका छन् भने नेपाल बीमा प्राधिकरणका कर्मचारीहरुले भने तत्काल आन्दोलनमा नजाने निर्णय गरेका छन् ।
धितोपत्र बोर्डका कर्मचारीहरुले आफ्ना मागहरु अझै सम्बोधन नभएको जनाउँदै फागुन २८ गतेदेखि दैनिक १ घण्टा धर्ना बस्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि दुवै निकायका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका थिए। तर, आचारसंहिता हटेसँगै सेबोनका कर्मचारीहरु पुनः सक्रिय भएका हुन् । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् ।
यता, नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले भने तत्काल आन्दोलन अघि नबढाउने संकेत दिएको छ । यद्दपि, बिमा प्राधिकरणका कर्मचारीहरुको माग पनि पूरा भएको छैन । कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेलका अनुसार हाल मागहरुको विषयमा आन्तरिक छलफल हूँदैछ । उनले व्यवस्थापन र सम्बन्धित मन्त्रालयसँग संवादमार्फत समाधान खोजिने बताएका छन् ।
पोखरेलका अनुसार सरकारले नियामक निकायहरुबीच सेवा सुविधा एकरुप बनाउने भनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्राधिकरणको सञ्चालक समितिबाट पारित सेवा सुविधा सम्बन्धी प्रस्ताव पनि लामो समयदेखि विचाराधीन रहँदै आएको छ । उनले अन्य निकायसँग तुलना गर्दा बीमा प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधा कमजोर रहेको बताए ।
कर्मचारी पलायनको जोखिम पनि बढ्दो चिन्ताको विषय बनेको छ । राम्रो अवसरको खोजीमा केही कर्मचारीहरुले अन्य संस्थामा आवेदन दिन थालेका छन् । यसले संस्थागत क्षमता र दक्ष जनशक्ति व्यवस्थापनमा असर पार्ने देखिन्छ । साथै, दरबन्दी अभाव, स्पष्ट नीतिको कमी र संरचनागत समस्या पनि कर्मचारी असन्तुष्टिको कारण बनेको छ ।
बीमा प्राधिकरणका कर्मचारीहरुले यसअघि सातबुँदे माग राखेर आन्दोलन गरेका थिए। उनीहरुको मुख्य मागमा सेवा सुविधा तथा नयाँ संगठन संरचना सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने र त्यसपछि मात्र पदपूर्ति प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख थियो। त्यस्तै, प्राविधिक क्षेत्र भएकाले आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकनका आधारमा पदोन्नति गर्नुपर्ने, कर्मचारी विनियमावली संशोधन गरी प्राविधिक र प्रशासन समूह स्पष्ट गर्नुपर्ने माग पनि समावेश थियो ।
यसका अतिरिक्त प्रदेश सरुवा, भौगोलिक अंक व्यवस्था, तालीम तथा मनोनयनमा कर्मचारीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, निर्देशक पदमा सेवा अवधि तोक्नुपर्ने, उत्तराधिकारी योजना लागू गर्नुपर्ने र संस्थागत सुधारका लागि पुनःसंरचना गर्नुपर्ने जस्ता मागहरु पनि उठाइएका थिए।
यता, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी युनियनले आफ्ना मागहरु पूरा नभएको भन्दै फागुन २८ गतेदेखि पुनः आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन् । बोर्ड व्यवस्थापनले मागहरुप्रति बेवास्ता गरेको भन्दै युनियनले पुनः आन्दोलन जारी राख्ने जनाएको हो ।
बोर्ड र व्यवस्थापनबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको र पछिल्लो समय प्रतिनिधि सभाको चुनावका कारण आचारसंहिताका कारण हरेक दिन १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम स्थगन भई आएकोमा फागुन २८ गतेदेखि पुन सशक्तरुपमा हरेक दिन बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम निरन्तर गर्ने जनाएको छ ।
पेन डाउन कार्यक्रममा कर्मचारीहरु कार्यालयमा उपस्थित भए पनि कामकाज ठप्प पार्ने गर्छन्। कर्मचारी युनियनले बोर्ड व्यवस्थापनलाई तत्काल वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।


