काठमाडौं । दक्षिण कोरियाको मुद्रा वोन अमेरिकी डलरको तुलनामा १५०० स्तर नाघ्दै सन् २००९ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व लम्बिन सक्ने चिन्ताले विनिमय दर लगातार बढिरहेको छ ।
मार्च २३ मा सियोल विदेशी विनिमय बजारमा वोन–डलर विनिमय दर १,५०४.९ वोनबाट कारोबार सुरु भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ४.३ वोनले बढी हो । कारोबारका क्रममा यो दर बढेर १,५११.८ वोनसम्म पुगेको थियो। बिहान १०:०९ बजेसम्म यो १,५०९.९ वोन वरिपरि कायम रहेको थियो । यो सन् २००९ मार्च १० पछि कै उच्च स्तर हो ।
मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकी डलर सुरक्षित मुद्राको रूपमा बलियो बन्दै गएको छ। प्रमुख छवटा मुद्रासँग डलरको मूल्य तुलना गर्ने डलर सूचकांक ९७ को स्तरबाट बढेर ९९–१०० को दायरामा पुगेको छ। इरानले स्ट्रेट अफ हार्मोज अवरुद्ध गर्न सक्ने सम्भावनाले अन्तर्राष्ट्रिय तेल मूल्य बढाएको छ, जसले डलरको माग अझ बढाएको छ।
विदेशी लगानीकर्ताहरू जोखिमबाट जोगिन दक्षिण कोरियाली शेयर बजारबाट बाहिरिँदा विनिमय दरमा थप दबाब परेको छ ।
मध्यपूर्वी द्वन्द्व कहिले कम हुने त कहिले चर्किने अवस्थामै रहेको छ। ट्रम्पले मार्च २१ मा ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई चेतावनी दिएका थिए—यदि ४८ घण्टाभित्र स्ट्रेट अफ हार्मोज पूर्ण रूपमा नखोलेमा अमेरिकाले इरानका प्रमुख ऊर्जा केन्द्रहरूमा आक्रमण गर्नेछ।
यसको जवाफमा इरानको केन्द्रीय सैन्य मुख्यालय ‘खातेम अल-अनबिया’का प्रवक्ता Ebrahim Zolfaghari ले मार्च २२ मा भने ‘यदि अमेरिकी धम्की कार्यान्वयन गरियो भने उक्त जलमार्ग पूर्ण रूपमा बन्द गरिनेछ र ऊर्जा पूर्वाधार पुनर्निर्माण नभएसम्म खोलिने छैन।
यसअघि पनि अमेरिका–इरान तनावका कारण दक्षिण कोरियाली वोनमा गिरावट आएको थियो। पछिल्लो अवस्थाले ऊर्जा आयातमा निर्भर दक्षिण कोरियाको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। यसैबीच सरकारले करिब २५ ट्रिलियन वोन बराबरको अतिरिक्त बजेट ल्याउने तयारी गरेको छ, जसले ऊर्जा मूल्यवृद्धिको असर कम गर्न र कमजोर वर्गलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


