काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीकोबीचमा चुनावी सरगर्मी बढेको छ । महासंघले चैत २९ र ३० गते ६० औँ साधारणसभा बोलाएको छ । जसले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । विधानअनुसार यो पटक महासंघको अध्यक्षमा चुनाव हुने छैन । यो कार्यसमितिमा पुरानो बिधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वचालित रूपमा ३ वर्षका लागि अध्यक्ष बन्ने भएका छन् । अध्यक्ष बाहेक अन्य पदका लागि भने निर्वाचन हुनेछ।
अध्यक्षमा प्रत्यक्ष प्रतिस्पर्धा नहुने र वरिष्ठ उपाध्यक्षको निर्वाचन भने निर्वाचित केन्द्रीय समितबाट अप्रत्यक्ष हुने भएपछि विगतका वर्षहरुजस्तो चुनावी रौनक देखिएको छैन । यो पटक चुनावको मुख्य उत्साह वस्तुगत, जिल्ला नगर उपाध्यक्ष, एसोसियट उपाध्यक्षमा मात्रै हुँदैछ ।
वस्तुगत उपाध्यक्षमा शिव घिमिरे र नरेशलाल श्रेष्ठ प्रतिस्पर्धाका प्रमुख दावेदारको रूपमा रहेका छन् भने जिल्ला नगर उपाध्यक्षमा अञ्चन समूहबाट दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा, एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र हालका उपाध्यक्ष हेमराज ढकाल समूहबाट एसोसियट उपाध्यक्ष हालका यसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना शर्माले प्रतिष्पर्धा गर्न लागेका छन् ।
विगत महासंघको निर्वाचनमा प्रत्यक्ष अध्यक्ष र वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष हुने भएकाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षको चुनावी चर्चा हुने गर्थ्यो तर यो पटक त्यहा खास चर्चा छैन । बरु केन्द्रीय सदस्यले वरिष्ठ उपाध्यक्ष चुन्ने भएकाले कसको प्यानलका केन्द्रीय सदस्य पछि निर्वाचित गराउने भन्ने चर्चा बढी रहेको छ । महासंघमा अब प्रत्यक्ष अध्यक्ष बन्ने भएको र आगामी अध्यक्ष बन्ने प्रतिस्पर्धा बलियो बनाउन अहिले नै विभिन्न समूहले प्रभाव बढाउने र टिम बनाइरहेका छन् ।
ढकाल समूह पूर्ण रूपमा तयार
वरिष्ठ उपाध्यक्षका दावेदार हेमराज ढकाल समूहले आफ्नो टिम तयार गरी केही समय अघि घोषणा गरेर चुनावी क्यम्पियन गरिरहेका छन् । हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन समूहले आज उपाध्यक्षको उमेद्वारको घोषणा गर्न लागेको छ ।
ढकाल समूहले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेको छ । हेमराज ढकालले कार्यकाल पूरा गर्दै गरेका अध्यक्ष चन्द्र ढकालको समर्थन पनि पाउने आशा व्यक्त गरेका छन् । तर चन्द्र ढकालले यसपटक पनि कुनै समूहमा औपचारिक रूपमा नखुल्ने र सहमतिकै प्रयास गर्ने बताएका छन् ।
हेमराज ढकाल समूहबाट वरिष्ट उपाध्यक्षको उमेद्वार सर्वस्वीकार्य हेमराज ढकाल भएपनि अञ्जन श्रेष्ठ समूहमा भने वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने टुगो लागेको छैन । अञ्जन समूहबाट वरिष्ठ उपाध्यक्ष बन्न हालका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ र पूर्व उपाध्यक्ष रामचन्द्र संघाईले दाबी गरेका छन ।
संघाईले हालका अञ्जन श्रेष्ठ समूहको पूरै समर्थन आफूमा भएको भनेर केही समय अघि पुनः प्रचार गरेका थिए । उनको प्रचारमा अञ्जन समूहबाट प्रतिष्पर्धामा रहेका उमेद्वारले असहमति जारी गरेपश्चात त्यो प्रचारमा भने उनी पछाडि सरेका छन् ।


