CLI

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७, महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् । उनले भनिन्, ‘२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन । काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित एवं मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो । गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ ।’

नगर प्रमुख राईले ८ चैतमा चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाउनुभएको थियो । अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले यही १२ चैतदेखि पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ ।

यही १२ चैतदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फस्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेन्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । प्रतिबद्धताअनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको उहाँको भनाइ छ ।

ठेकेदारलाई पटक–पटक फोन गर्दा नउठाएपछि नगर प्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिस्ट’मा राख्ने म्यासेज पठाएपछि निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आएका थिए । नमुना/हिमालयन जेभीले ८ साउन २०८० सम्ममा काम सम्पन्न गर्ने गरी ८ साउन २०७८ मा अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि अस्पतालको भवन जगभन्दा माथि उठ्न सकेको छैन ।

भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट ४ करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएका थिए । भुक्तानी लिएपछि भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएका थिए । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृत गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।

नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐेँसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार १५ मंसिर २०७७ मा जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा १५ मंसिर तथा केपिलासगढीमा २३ मंसिरमा शिलान्यास गरिएको थियो । त्यस्तै, साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिनाशिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’को प्रतिबद्धताअनुसार बिनाशिलान्यास काम सुरु गरिएको हो ।

Leave Your Comment

Related News