CLI

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताए । उनले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए ।

उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिए । नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले दुवै देशका सरकारबीच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे । उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पु¥याउन अनुरोध गरे ।

Leave Your Comment

Related News