CLI

नेपाली बजारमा विद्युतीय सवारीको बढ्दो क्रेज, ८ महिनामा ६ हजारभन्दा बढी गाडी आयात

काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको भाउ बढिरहँदा ग्राहकहरु विद्युतीय सवारी साधन तर्फ आकर्षित भएका छन् । यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ ।  नेपालमा आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन–फागुन) मा ६ हजार ३९६ वटा विद्युतीय सवारी साधन (कार, जीप र भ्यान) आयात भएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ५०३ वटाले बढी हो । गत आवको यसैअवधिमा ५ हजार ८९३ वटा इभी आयात भएको थियो । इभी आयातमा वृद्धिसँगै राजस्व संकलन पनि बढेको छ । भन्सार विभागका अनुसार फागुनसम्म १४ अर्ब ९६ करोड १ लाख २७ हजार रुपैयाँ बराबरका इभी आयात हुँदा सरकारले ९ अर्ब ११ करोड ९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार हाल नेपालमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएका छन् । चालु आवको ८ महिनामा यस क्षमताका ३ हजार ६७२ वटा सवारी भित्रिएका छन् । त्यस्तै, ५० किलोवाटसम्मका २ हजार १९८ वटा, १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा ५० किलोवाटका २ वटा ‘अन-एसेम्बल’ सवारी आयात भएका छन् ।

इभी कार, जिप र भ्यान मात्र नभएर तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात पनि उल्लेखनीय रुपमा बढ्दै गएको छ । फागुनसम्म ६ हजार १५ वटा तीन पाङ्ग्रे इभी नेपाल भित्रिएका छन्, जसको कुल आयात मूल्य ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

विशेषज्ञहरुका अनुसार इन्धनको बढ्दो मूल्य, सञ्चालन खर्च कम हुनाले इभी प्रति आकर्षण बढाएको हो । पेट्रोलियम पदार्थ महँगिँदै जाँदा उपभोक्ताहरुले दीर्घकालीन खर्च घटाउने विकल्प खोजिरहेका छन् । विद्युतीय सवारीका लागि लाग्ने इन्धन खर्च कम हुनु, वातावरणमैत्री र दिगो विकल्प भएकाले यसको माग तीव्र रुपमा बढेको विज्ञहरुको भनाई छ ।

साथै, चार्जिङ पूर्वाधार विस्तार हुँदै जानु र बैंकहरुले इभीमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पनि बजार विस्तारका मुख्य कारण हुन् । त्यस्तै, शहर क्षेत्रमा ट्राफिक जाम र प्रदूषण बढ्दै जाँदा पनि उपभोक्ताहरु वातावरणमैत्री विकल्प रोज्न थालेका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडल नेपाली बजारमा भित्रिनु र बिक्रीपछिको सेवा सुधारिनु पनि माग वृद्धिका थप कारण बनेका छन् ।

Leave Your Comment

Related News