काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्य गर्न सम्झौता नजिक पुगेको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । उनले हालै सार्वजनिक वक्तव्य दिँदै अमेरिका र इरानबीच पछिल्ला केही दिनदेखि सकारात्मक र गहन वार्ता भइरहेको बताएका छन् ।
ट्रम्पका अनुसार प्रस्तावित सम्झौताअनुसार इरानले आणविक हतियार नबनाउने, युरेनियम संवर्द्धन नगर्ने र आफूसँग रहेको उच्चस्तरीय संवर्द्धित युरेनियम हस्तान्तरण गर्ने सहमति जनाउनेछ । उनले यस्तो सहमतिले इजरायललाई पनि सन्तुष्ट बनाउने दाबी गरेका छन्।
तर, ट्रम्पको यो दाबीलाई इरानले पूर्ण रूपमा अस्वीकार गरेको टाइम्स अफ इजरायलले जनाएको छ । इरानका उच्च अधिकारीहरूले अमेरिकासँग कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन् । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले यसलाई “नक्कली समाचार” भन्दै आलोचना गरेका छन्। उनका अनुसार यस्तो प्रचारले आर्थिक तथा तेल बजारलाई प्रभावित पार्ने उद्देश्य राखिएको हुन सक्छ ।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको पुष्टि गरेका छन् । उनले युद्धका लक्ष्यहरू सम्झौतामार्फत हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन्। यद्यपि इजरायलले यस विषयमा प्रारम्भिक रूपमा औपचारिक प्रतिक्रिया भने दिएको थिएन ।
स्थिति थप जटिल बन्दै जाँदा ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्ने भनिएको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन् । उनले वार्तालाई अवसर दिन यस्तो निर्णय लिएको बताए पनि आवश्यक प्रगति नभएमा आक्रमण पुनः सुरु गर्न सकिने चेतावनी दिएका छन् । यसअघि उनले इरानलाई महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अप होर्मुज खोल्न अल्टिमेटम दिएका थिए, जुन विश्व तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा भने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् । इजिप्ट, टर्की र पाकिस्तानजस्ता देशहरूले मध्यस्थताको प्रयास गरिरहेका छन्। उनीहरूले दुवै पक्षबीच वार्ता गराएर तनाव कम गर्ने प्रयास गरिरहेका छन्। त्यस्तै, रूसले पनि तत्काल युद्धविराम र राजनीतिक समाधानको आवश्यकता औंल्याएको छ।
यस घटनाक्रमले विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न थालेको छ । विशेषगरी तेल बजारमा ठूलो उतारचढाव देखिएको छ । होर्मुज पुनः खुल्ने सम्भावनाले तेलको मूल्यमा अस्थायी गिरावट आएको छ, जसले विश्व बजारमा आशा र अनिश्चितता दुवै सिर्जना गरेको छ।
अमेरिका र इजरायलले केही हप्तादेखि इरानमाथि संयुक्त सैन्य कारबाही गर्दै आएका छन्। यस क्रममा इरानका धेरै महत्वपूर्ण सैन्य तथा राजनीतिक व्यक्तित्वहरू मारिएको बताइएको छ । इरानले पनि क्षेत्रीय ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिँदै आएको छ, जसले मध्यपूर्व क्षेत्रलाई अझ अस्थिर बनाएको छ।


