CLI

पेट्रोलियम पदार्थ अभाव भए सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने

काठमाडौं । मध्यपूर्वमा भएको द्धन्द्धका कारण पेट्रोलियम पदार्थ अभाव भएमा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार इरान र अमेरिका–इजरायलका कारण पेट्रोलियम पदार्थको अभाव भएमा सवारी साधनमा जोर बिजारे प्रणाली लागु गर्ने तयारी गरिएको हो ।

द्धन्द्धका कारण प्लाष्टिकजन्य उद्योग समस्यमा परेको समयमा मन्त्रालयको उक्त धारणा सार्वजनिक भएको हो । द्धन्द्धका कारण पानी प्याकिङ गर्न प्रयोग हुने बोतल, बिर्को (क्याप), लेभल, प्लास्टिक रोल र दानाको आपूर्ति व्यवस्थापन पूर्णरूपमा प्रभावित भएको अवस्थामा मन्त्रालयले जोर बिजोर प्रणाली बारे छलफल भएको जनाएको हो ।

मन्त्रालयका स्रोतका अनुसार भारतबाट पेट्रोलियम पदार्थ आयातमा समस्या भएमा सवारी साधानमा जोर बिजोर प्रणाली लागु गर्न सक्ने विषयमा छलफल चलिरहेको बताए । मन्त्रालय र नेपाल आयल निगमका अधिकारीहरु बीच जोर बिजोर प्रणाली लागु गर्ने विषयमा हाल पहिलो चरणको छलफल भएको छ, भारतबाट पेट्रोलियम पदार्थ निरन्तर आइरहेको कारण जोर बिजोर प्रणाली लागु हुन्छ वा हदैन भन्ने विषयमा यकिन भने भएको छैन, स्रोतले भन्यो । जोर बिजोर प्रणाली लागु गर्दा निजी वा सार्वजनिक सवारी साधन मध्ये कसरी अघि बढ्ने ? भन्ने इक्विटी नेपालको प्रश्न थियो । जसको जवाफमा मन्त्रालयका प्रवक्ता एवम सहसचिव नेत्र प्रसाद सुबेदीले जोर बिजोर प्रणालीको लागि प्रारम्भिक छलफल मात्र भएकोले त्यहाँ सम्म नपुगेको बताए ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले भने भारतबाट नियमित पेट्रोल, डिजेल र खाना पकाउने ग्यास निरन्तर आइरहेको हुँदा हाल समस्या नहुने बताए । ‘भारतले निर्यात गर्ने वा बेच्ने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको हिस्सामा नेपालको हिस्सा ३ प्रतिशत भन्दा कम रहेको कारणले गर्दा नेपालाई पेट्रोलियम पदार्थ निर्यातमा वाधा पुराउनपर्ने आवश्यकता रहेको छैन,’ उनले इक्विटी नेपालसँग भने,‘ भारतको उच्च अधिकारीसँग दिनहुँ म सम्पर्कमा छु अर्थात् कुराकानी भइरहेको छ त्यो हिसाबले पनि भारतले नेपाललाई दिने पेट्रोलियम पदार्थमा कमी हुन नदिने प्रतिक्रिया प्राप्त गरेको हुँदा समस्या नहुनेमा विश्वसत रहेको छु ।’

सचिव बुर्लाकोटीले पेट्रोल, डिजेल तथा हवाइ इन्धनको समस्या नभएको बताउँदै खाना पकाउने ग्यास आयात गर्ने दुई वटा उद्योगले माग भन्दा कम ग्यास प्राप्त गरेकोमा त्यसको समेत समस्या समाधान गरिएको बताए । यता प्रवक्ता सुबेदीले निगमका अधिकारीहरुसँग पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग र आपूर्तिलाई लिएर निरन्तर बैठक भइरहेको बताए । हामीले उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको निरन्तर आयात गरिरहेको उनको भनाई छ ।

द्धन्द्धका कारण पेट्रोल, डिजेल र ग्यासको अभावका कारण सर्वसाधारण मारमा परेका थिए । अघिल्ला साताहरुमा पेट्रोल पम्प र ग्यास लिनका लागि उपभोक्ताहरु लामो लाइनमा बसेका थिए । अझ ग्यासको अभाव भनेर निगमले आधा सिलिन्डर मात्र ग्यास उपलब्ध गराएको थियो । दैनिक रुपमा औसत ४९ हजार टन ग्यासले पुग्नेमा माग बढेसँगै आपूर्ति पनि बढाएको आयल निगमले बताउदै आएको छ ।
द्धन्द्धका कारण विश्वबजारमा कच्चा तेल (क्रुड पेट्रोलियम) को चरम अभाव भएको छ । विशेषगरी ओमान, इरान र यूएईजस्ता देशहरूसँग जोडिएको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ नाका बन्द हुँदा नेपालका प्लाष्टिक जन्य उद्योग प्रत्यक्ष मारमा परेको हो ।

चैत २ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले पनि पेट्रोलियम पदार्थको आपूर्ति नियमित बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको थियो । बैठकले खपतअनुसार पेट्रोलियम र एलपी ग्यास आयात सुनिश्चित गर्न निर्देशन दिएको थियो ।
बैठकले ग्यासको अत्यधिक भण्डारण नियन्त्रण, बिक्रेताको अनुगमन तथा उपभोक्तालाई सिलिन्डर साट्ने मिति जानकारी दिने व्यवस्था गर्न समेत निर्णय गरेको थियो ।

Leave Your Comment

Related News