काठमाडौं । नेपालको सेयर बजारको आकार (पुँजीकरण) ५० खर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार चैत १० गते बजार पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड १३ लाख रुपैयाँ पुगेको छ । यसअघि गएको साउन १३ गते पुँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
मंगलबार नेप्से सूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको छ । बजार बढेसँगै पुँजीकरण पनि उकालो लागेको हो । यद्दपि, नेप्से सूचकले अझै ३२२७ विन्दुको अल टाइम हाई (इन्ट्रा-डे हाई) रेकर्ड तोड्न बाँकी छ । इन्डेक्सको रेकर्ड तोड्न बाँकी रहँदै बजार पुँजीकरणको रेकर्ड भने तोडिन लागेको छ ।
आगामी दिन बजार झिनो अंकले बढ्यो भने पनि बजार पुँजीकरण हालसम्म कै उच्च पुग्नेछ । नेप्से सूचकमा वृद्धि, सूचीकृत हुने नयाँ कम्पनीहरुको संख्यामा वृद्धि र बोनस तथा हकप्रद सेयर थप हुँदा पनि बजार पुँजीकरण बढेको हो ।
नयाँ सूचीकृत कम्पनीहरुको उल्लेखनीय योगदान
नेपाल स्टक एक्सचेन्जमा गत वर्ष र चालु वर्षमा २४ नयाँ कम्पनी सूचीकृत भएका छन् । ती कम्पनीहरुले मात्र ८२ करोड ९४ लाख ६१ हजार कित्ता सेयर थप गरेका छन् र करिब २ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण योगदान रहेको छ ।
सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, बन्दीपूर, एसवाई प्यानल जस्ता कम्पनीहरुको उच्च पुँजीकरणले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यसले हालको पुँजीकरण वृद्धिमा नयाँ कम्पनीहरुको भूमिका पनि ठूलो रहेको देखाएको छ ।

यता, हाल नेपालको कुल जीडीपी करिब ६२ खर्ब रुपैयाँ रहेको छ भने नेप्सेको बजार पुँजीकरण ५० खर्ब पार गरिसकेको छ । जुन जीडीपीको बजार आकार अनुपातको करिब ८० प्रतिशत हो । यदि बजार यसैगरी विस्तार हुँदै जाने हो भने भविष्यमा बजार पुँजीकरण जीडीपीभन्दा पनि ठूलो हुन सक्ने देखिन्छ । यद्दपि, विकसित देशहरुमा यस्तो अवस्था सामान्य मानिन्छ ।
धेरै विकसित देशहरुमा बजार पुँजीकरण प्रायः आफ्नो वार्षिक आर्थिक उत्पादन (जीडीपी) भन्दा बढी देखिन्छ । यसको मुख्य कारण ती देशहरुमा वित्तीय बजार अत्यन्त विकसित हुनु हो । अमेरिका विश्वको सबैभन्दा ठूलो सेयर बजार हो । यहाँका २ प्रमुख एक्सचेन्ज एनवाईएसई र नास्ड्याकमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण अमेरिकी जीडीपी भन्दा धेरै ठूलो छ ।
यसले अमेरिकी बजारमा लगानीकर्ताको विश्वास र भविष्यको अपेक्षाले सेयर मूल्यलाई उच्च बनाएको देखाउँछ । त्यस्तै, जापान पनि बजार पुँजीकरणमा आफ्नो जीडीपी भन्दा माथि रहेको देश हो । दक्षिण कोरिया र युनाइटेड किंगडम पनि त्यस्ता देशहरुको पनि बजार पुँजीकरण जीडीपी भन्दा बढी छ ।
सेयरको मूल्य केबल हालको आम्दानीमा निर्भर हुँदैन । लगानीकर्ताले कम्पनीको भविष्यमा हुने आम्दानी, विस्तार योजना, प्रविधि र नवप्रवर्तनको मूल्याङ्कन गर्छन् । भविष्यमा आम्दानी बढ्ने अपेक्षाले सेयर मूल्य र बजार पुँजीकरणलाई उच्च बनाउँछ ।
विकसित देशमा घरेलु मात्र नभई विदेशी लगानी पनि ठूलो मात्रामा बजारमा आउँछ। अमेरिकी बजारमा विश्वभरिका लगानीकर्ताहरु सक्रिय छन्, जसले सेयर मूल्यलाई माथि तानेको देखिन्छ ।
त्यसो त, जीडीपी केबल वस्तु र सेवाको उत्पादनको मापन हो । जबकि बजार पुँजीकरणमा कम्पनीहरुको सेयर मूल्य, लगानी, भविष्यको अपेक्षा र वित्तीय विश्वास पनि समावेश हुन्छ । त्यसैले वित्तीय बजार ठूलो भएको देशमा पुँजीकरण जीडीपी भन्दा माथि देखिन्छ ।


