काठमाडौं । लघु निर्जीवन बिमा कम्पनीहरुले उल्लेखनीय प्रगति गरेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ को ७ महिनासम्म अर्थात, फागुनसम्म आइपुग्दा यस्ता कम्पनीहरुको बिमा शुल्क (प्रिमियम) संकलन उल्लेखनीय रुपमा बढेको तथ्यांकले देखाएको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार २०८०-८१ को फागुन महिनासम्म लघु निर्जीवन बिमाहरुको १० करोड ३३ लाख रुपैयाँ रहेको बिमा शुल्क संकलन २०८१-८२ मा बढेर ५७ करोड ९६ लाख रुपैयाँ पुगेको थियो । यो एकै वर्षमा करिब ५.६ गुणाले वृद्धि भएको हो ।
त्यसपछि २०८२–८३ को फागुनसम्म आइपुग्दा उक्त रकम अझै बढेर ८२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब १.४३ गुणा वृद्धि हो । समग्रमा हेर्दा दुई वर्षको अवधिमा बिमा शुल्क संकलन झण्डै ८ गुणाले बढेको देखिन्छ ।
यसरी छोटो अवधिमा भएको तीव्र वृद्धि पछाडि विभिन्न कारणहरु रहेका छन् । पछिल्ला वर्षहरुमा ग्रामीण तथा दुर्गम क्षेत्रसम्म बिमा सेवाको पहुँच विस्तार भएको, सर्वसाधारणमा बिमाप्रति चेतना बढेको तथा कृषि र पशु बिमामा सरकारी सहुलियत र प्रोत्साहन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
साथै, बिमा कम्पनीहरुले डिजिटल सेवा विस्तार, एजेन्ट नेटवर्क सुदृढीकरण र साना प्रिमियममा उपलब्ध योजनाहरु ल्याएर नयाँ ग्राहक आकर्षित गरेका छन् ।
यो वृद्धि केबल कम्पनीहरुको आम्दानी बढेको मात्र संकेत होइन, यसले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बिमा सेवाको विस्तारले किसान, साना व्यवसायी तथा न्यून आय भएका वर्गलाई आकस्मिक जोखिमबाट जोगिन आर्थिक सुरक्षा प्रदान गर्छ । प्राकृतिक विपत्ति, रोग वा अन्य क्षतिबाट हुने आर्थिक नोक्सानी कम गर्न बिमाले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
यसका साथै, बिमा कम्पनीहरुले संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्दा आर्थिक गतिविधि बढ्न सहयोग पुग्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि बिमा भएको ऋणीको जोखिम कम हुने भएकाले कर्जा प्रवाह सुरक्षित बन्छ। सरकारले समेत विपद् वा क्षतिको अवस्थामा दिनुपर्ने राहत खर्च घटाउन सक्ने सम्भावना रहन्छ।
यद्दपि, बिमा शुल्क संकलनमा देखिएको तीव्र वृद्धिसँगै दाबी भुक्तानी व्यवस्थापन, सेवा गुणस्तर र पारदर्शिता कायम राख्नु चुनौतीपूर्ण बन्न सक्छ । दीर्घकालीन रुपमा यस क्षेत्रलाई दिगो र विश्वसनीय बनाउन यी पक्षहरुमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । “लघु बिमा कम्पनीहरुको भविष्य निकै राम्रो देखिएको छ, र यिनीहरुले आफ्नो व्यवसाय तीव्र रुपमा विस्तार गर्ने देखिन्छ,” बिमाविज्ञ भोजराज शर्माले बताए।
लघु निर्जीवन बिमा कम्पनीहरु नेपालमा विशेष गरी पछिल्ला केही वर्षयता स्थापना भएका हुन् । बीमा क्षेत्रमा सर्वसाधारण, विशेषतः ग्रामीण भेगका किसान, साना व्यवसायी तथा न्यून आय भएका वर्गलाई समेट्ने उद्देश्यले यस्ता कम्पनीहरु सञ्चालनमा ल्याइएका हुन् ।
सानो प्रिमियममा सरल र पहुँचयोग्य बिमा सेवा उपलब्ध गराई जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने, वित्तीय समावेशीकरण बढाउने तथा आर्थिक रुपमा कमजोर वर्गलाई सुरक्षाको दायरा भित्र ल्याउने मुख्य उद्देश्यका साथ यी कम्पनीहरु स्थापना गरिएका हुन् ।


