काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले यस चरणमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर छुट्याएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल रहेको छ।
यसपछि कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।


