CLI

फेरि बढ्न थाले जेनजी स्टक, अब यिनीहरुको पालो हो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालै सूचीकृत नयाँ कम्पनीहरुको बजार भाउमा वृद्धि देखिएको छ । यी कम्पनीहरुलाई सामान्यतया जेनजी स्टक पनि भनिन्छ । विगत केही समयदेखि साइडवेज वा एकुमुलेसन फेजमा रहेका यी स्टकहरु फेरि लगानीकर्ताको ध्यानाकर्षणको केन्द्रमा आएका छन् ।

उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, र हाइड्रोपावर क्षेत्रमा हालै सूचीबद्ध भएका कम्पनीहरुको सेयर मूल्यमा वृद्धि भएको छ । यद्दपि, अरु समूहका कम्पनी बढेका छैनन् भन्ने पनि होइन । अरु कम्पनीहरु पनि बढेका छन् । तर, नयाँ कम्पनीहरु यी ३ समूहमा बढी सूचीकृत छन् । त्यसैले यी कम्पनीहरुको भाउ मात्र होइन, सम्बन्धित उपसमूह पनि माथि गएको छ ।

यसले नयाँ सूचीबद्ध कम्पनीहरुको बढ्दो संख्या र बजारमा तीव्र गतिविधिले समग्र समूह सूचकलाई सकारात्मक प्रभाव पुर्‍याएको देखाएको छ । केही कम्पनीहरुको मात्र मूल्य वृद्धि नभई समग्र सूचकमा पनि सकारात्मक असर परेको छ ।

सेयर बजारका जानकार राजु पौडेल हाल बजारमा सेक्टर रोटेसन भैरहेको बताउँछन् । उनले भने, “हिजोबाट जेनजी स्टकमा गति देखिएको हो । यी स्टकहरु धेरै समयदेखि निश्चित एरियामा एकुमुलेसन भइ रहेका थिए । हाइड्रोपावर, बैंक र अन्य कम मूल्य भएका स्टकहरु पहिले चलेका थिए, अहिले जेनजी स्टकको पालो आएको छ।”

“यी स्टकहरु प्रायः बाइ सेटअपमा एकुमुलेसन भइरहेका थिए । अहिले ती स्टकमा बजारले प्रतिक्रिया देखाइरहेको छ,” पौडेलले थपे । बुल मार्केटमा सेक्टर रोटेसन सामान्य प्रक्रिया हो । लगानीकर्ताले सस्तो मूल्यमा रहेका स्टक किन्छन् र मूल्य माथि पुगेपछि बेचेर नाफा लिन्छन् । यस प्रक्रियालाई बजारमा अपरेटरहरु प्रायः रणनीतिक रूपमा चलाउँछन् ।

बाइ सेटअप राम्रो भएको खण्डमा स्टकको मूल्य क्रमिक रुपमा माथि जान्छ र अर्को सेक्टरमा लगानीको फोकस सर्छ । यही प्रक्रिया अहिले जेनजी स्टकमा देखिएको हो ।

लगानीकर्ताको आकर्षण बढ्नुको पछाडि उत्पादन, हाइड्रोपावर, र पर्यटन क्षेत्रका कम्पनीहरुको भविष्यमा आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध छ, जसले लगानीकर्तामा विश्वास जगाउँछ । साथै, बजारमा बढ्दो एकुमुलेसन र सक्रिय अपरेटरको रणनीति पनि मूल्य बढाउने मुख्य कारण हो ।

विश्लेषकहरुका अनुसार, जेनजी स्टकमा लगानी बढ्नु बजारमा नयाँ प्रवाह र सक्रियताको संकेत हो । विशेष गरी हाइड्रोपावर र पर्यटन क्षेत्रका कम्पनीहरुको माग बढ्नुले उनीहरुको बजार पुँजीकरणमा पनि वृद्धि गरेको छ ।

Leave Your Comment

Related News