CLI

मार्जिन कारोबार सम्बन्धी कार्यविधि पारित, ३० प्रतिशत प्रारम्भिक मार्जिन अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले हालै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ पारित गरेको छ। यो कार्यप्रक्रियाले धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखेको छ ।

मार्जिन कारोबार भनेको कारोबार सदस्यमार्फत लगानीकर्ताले तोकिएको प्रारम्भिक मार्जिन राखेर सेयर खरिदबिक्री गर्ने प्रक्रिया हो। यस अन्तर्गत लगानीकर्ताले सेयरको खरिद रकमको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । साथै, बजार मूल्य घट्दा न्यूनतम सम्भार मार्जिन कायम गर्नुपर्नेछ।

यदि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसक्दा, कारोबार सदस्यले मार्जिन कल गरेर आवश्यक रकम वा सेयर जम्मा गर्न लगानीकर्तालाई जानकारी दिन सक्ने व्यवस्था गरिएको छ।

मार्जिन कारोबार सुरु गर्न लगानीकर्ताले कारोबार सदस्यसँग मार्जिन कारोबार खाता खोल्नुपर्छ। खरिद गरिएका सेयरहरु सम्बन्धित मार्जिन कारोबार हितग्राही खातामा जम्मा हुनेछन्। लगानीकर्ताको जोखिम मूल्यांकन, बजार अवस्था र सेयरमा निहित जोखिम अनुसार कारोबार सदस्यले आवश्यक भन्दा बढी मार्जिन माग गर्न पनि सक्नेछन्।

कारोबार सदस्यले मार्जिन कारोबार सेवा प्रदान गर्न नेप्सेबाट अनुमतिपत्र लिनु अनिवार्य छ। अनुमतिपत्र प्राप्त गर्नका लागि कारोबार सदस्यले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पूँजी, राफसाफ सदस्यता, बोर्ड अनुमतिपत्र, र नेप्से सदस्यता राख्नुपर्नेछ। अनुमतिपत्र नवीकरण, स्थगन वा खारेजीसम्बन्धी व्यवस्था पनि स्पष्ट गरिएको छ।

मार्जिन कारोबारयोग्य सेयरको सूची नेप्सेले प्रत्येक आर्थिक वर्ष सार्वजनिक गर्नेछ र आवश्यकता अनुसार अद्यावधिक गर्नेछ। सूचीबाट हटाइएका सेयरको लागि व्यापार गर्ने लगानीकर्ताले ३० कारोबार दिन भित्र राफसाफ गर्नुपर्ने वा शतप्रतिशत मार्जिन कायम गर्नुपर्ने व्यवस्था छ।

कारोबार सदस्यको वित्तिय स्रोत स्पष्ट रूपमा व्यवस्थापन गर्नुपर्नेछ। सदस्यले आफ्नो नेटवर्थको ४.५ गुणाभन्दा बढी मार्जिन कारोबारमा लगानी गर्न पाउने छैन। एक ग्राहक वा सम्बन्धित समूहलाई उपलब्ध गराउने मार्जिन रकममा निश्चित सीमा राखिएको छ र लगानी विविधिकरण सुनिश्चित गर्नुपर्नेछ।

लगानीकर्तासँग सम्झौता गर्नु अनिवार्य छ, जसमा न्यूनतम बुँदाहरु समावेश गर्नुपर्नेछ। लगानीकर्ताको साख मूल्यांकन गरेर मात्र मार्जिन सुविधा उपलब्ध गराइनेछ। साथै, ब्याज र शुल्क व्यवस्थालाई नियमित अद्यावधिक गरी सार्वजनिक गर्नुपर्नेछ।

नेप्सेले मार्जिन कारोबार अन्तर्गत भएका सबै कामकार्वाहीको निरीक्षण, अनुगमन र अभिलेख राख्ने अधिकार राखेको छ। कारोबार विवरण मासिक रुपमा नेप्से र बोर्डलाई उपलब्ध गराउनुपर्नेछ। लगानीकर्ताले ऋण चुक्ता नगरेमा, कारोबार सदस्यले सेयर बिक्री गरी रकम उठाउने अधिकार पाउनेछ।

यस कार्यप्रक्रियाले लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्दै बजारमा पारदर्शिता बढाउने लक्ष्य राखेको छ। लगानीकर्ताले मार्जिन कारोबार सुरु गर्नुअघि अभिमुखीकरण प्राप्त गर्नुपर्छ र मृत्यु भएमा दायित्व हकवालामा हस्तान्तरण हुनेछ। यसरी नेप्सेले मार्जिन कारोबारलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउने सुनिश्चितता गरेको छ।

Leave Your Comment

Related News