CLI

‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक

विराटनगर । गैरसरकारी संघ महासंघ नेपाल कोशी प्रदेशको आयोजनामा मुलुकमा रहेका विभिन्न किसिमका असमानताका स्वरूपबारे जानकारी लिने र आवश्यक विश्लेषण गर्ने उद्देश्यले ‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक गरिएको छ । आज विराटनगरमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकार भएका निकायका प्रतिनिधिबीच बृहत छलफल भएको हो ।

गैरसरकारी संघ महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा विशेष गरी महिला, युवा तथा विभिन्न समूहका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

छलफलका क्रममा विज्ञ परामर्शदाता डा. रेवत ढकालले प्रतिवेदनको सहजीकरण गर्दै नेपालमा आर्थिक, सामाजिक र लैङ्गिक असमानताका वर्तमान चुनौतीका बारेमा प्रकाश पारेका थिए । सहभागीले समाजका तल्लो तहसम्म रहेका असमानताका खाडल पुर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुनुपर्ने पहलका बारेमा आ–आफ्ना धारणा राखेका थिए । गैरसरकारी संघ महासंघले सार्वजनिक गरेको उक्त प्रतिवेदनले आगामी दिनमा नीति निर्माण र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

Leave Your Comment

Related News