काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट बीच मन्त्रालयमै छलफल भएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन सुरु हुनुअघि नै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका निकायहरूलाई समयमै योजना बनाएर पूर्वतयारी गर्न विशेष जोड दिए ।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टले उक्त भेटघाट नियमित प्रक्रिया भए पनि यसपटक गृहमन्त्रीको सक्रियता प्रारम्भमै देखिएको बताए । “यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो, तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो। यसले विपद् व्यवस्थापनका लागि हामीलाई सहज भएको छ,” उनले भने ।
गृहमन्त्री गुरुङले आफू विगत १० वर्षदेखि विपद् जोखिम न्यूनीकरण क्षेत्रमा संलग्न रहेको उल्लेख गर्दै अहिलेको भूमिकामा थप जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विपद् भएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पनि पहिले नै जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।


