CLI

मल्कवाङमा विद्युतीकरण

म्याग्दी।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो ।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरी गाउँपालिका–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए ।

गत मङ्सिर महिनामा प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो । मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रीय लाइनको बिजुली बालिएको वडाध्यक्ष छन्त्यालले बताए । “छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौँ”, उनले भने, “होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युुत् प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।”

धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत् लगिने भएको छ । यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघु जलविद्युत परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं –४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

३७० घरपरिवारको बसोबास रहेको लुलाङमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेक बस्तस्हरुमा केन्द्रीय विद्युत् सुविधा पुुग्ने केन्द्रका प्रमुख गामीले बताए ।

Leave Your Comment

Related News