CLI

‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनार सम्पन्न

काठमाडौं । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमअन्तर्गत आज ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न भएको छ ।

सेमिनारमा राष्ट्रिय सुरक्षा र विकासका लागि आधुनिकता र मौलिकताबीचको सन्तुलन गर्ने सम्बन्धमा दुई चरणमा विषय विज्ञहरूबाट प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

त्यस क्रममा पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले नेपालको ऐतिहासिक गौरव र दिव्योपदेशको धरातलमा आधुनिक राज्य व्यवस्थाः राष्ट्रिय मूल्य मान्यता, चुनौती र दीर्घकालीन मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा प्राडा राजाराम सुवेदी र सहप्राध्यापक डा डोलराज काफ्ले टिप्पणी गरे । यस्तै, दोस्रो सत्रमा सहप्राध्यापक डा धीरेन्द्र नाल्बोले बदलिँदो विश्व व्यवस्था र नेपालजस्ता साना राष्ट्रको अस्तित्व रक्षाका लागि रणनीतिक मौलिकता विषयक कार्यपत्र प्रस्तुत गरे ।

यसमाथि प्राडा मृगेन्द्रबहादुर कार्की र उपप्राध्यापक गौरव भट्टराईले टिप्पणी गरेका थिए । कार्यक्रमका सहभागीहरूले छलफलपश्चात् पारदर्शिता, विधिवत शासन, उत्तरदायित्वजस्ता आधुनिक मान्यताहरूलाई आत्मसात् गर्नेलगायत विविध विषयमा सुझाव दिए ।

बलाधिकृत रथी प्रदीप जङ्ग केसीले शुभारम्भ गरेको कार्यक्रमको रक्षा सचिव केदारनाथ शर्माले समापन गरेका थिए । कार्यक्रममा विभिन्न मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायत शिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

Leave Your Comment

Related News