CLI

हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेको राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक रूपमा अघि बढाउने उपयुक्त समय आएको बताएका छन्। नेपाल उद्योग परिसंघसँग सोमबार साँझ भएको भेटमा उनले निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए।

उनका अनुसार हालको राजनीतिक स्थिरताले निजी क्षेत्रको लामो समयदेखिको माग सम्बोधन गरेको छ र अबको प्राथमिकता आर्थिक विकासमा केन्द्रित हुनेछ। “जनताको ठूलो आशा र भरोसा हामीमाथि छ, त्यसलाई परिणाममा रूपान्तरण गर्नु हाम्रो जिम्मेवारी हो,” उनले भने।

अर्थमन्त्री वाग्लेले पदभार सम्हालेकै दिन १५ वटा कानुन खारेज गर्ने निर्णयमार्फत सरकार निजी क्षेत्रप्रति उदार र सहयोगी रहेको सन्देश दिइसकेको उल्लेख गरे। “हामी उदार अर्थतन्त्रका पक्षमा छौं, तर उदारको अर्थ छाडा होइन,” उनले भने, “नियमभित्र रहेर व्यवसाय गर्ने निजी क्षेत्रलाई सरकारले खुला सहयोग गर्छ।” उनले निजी क्षेत्रलाई इमान्दारीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको बताए।

भेटमा औद्योगिक विकासका विषयमा पनि छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले नमूना औद्योगिक पार्क स्थापना गरी लगानीमैत्री वातावरण बनाउने सरकारको योजना सुनाउँदै स्वदेशी मात्र नभई ठूला तथा बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउन निजी क्षेत्रलाई सक्रिय हुन आग्रह गरे। लगानीको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माणमा सहकार्य आवश्यक रहेको बताए।

“तपाईंहरू लगानी गर्न उत्साहित हुनुहोस्, विदेशी लगानी ल्याउने वातावरण बनाउनुस् ” उनले भने।

 

Leave Your Comment

Related News