CLI

विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान

सिड्नी। निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका क्यान्सर अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनले भेपिङ आफैंमा क्यान्सरको कारण बन्न सक्ने उल्लेख गरेको छ, जुन केवल धूम्रपानतर्फ लैजाने माध्यम मात्र होइन ।

सह–प्राध्यापक बर्नार्ड स्टुअर्टको नेतृत्वमा गरिएको यस अनुसन्धानमा औषधि विज्ञ, महामारी विज्ञ, छाती शल्य चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू सहभागी थिए । सन् २०१७ देखि २०२५ सम्मका क्लिनिकल अध्ययन, जनावरमा गरिएका परीक्षण र प्रयोगशाला तथ्याङ्कहरूको विश्लेषण गर्दा भेपको धुवाँबाट डीएनए क्षति, अक्सिडेटिभ तनाव, ऊतकमा सूजन तथा मुसामा फोक्सोको ट्युमर देखिएको पाइएको छ ।

अध्ययनमा भेपको धुवाँमा विभिन्न क्यान्सरजन्य रसायनहरू, उडनशील जैविक पदार्थ र तताउने कुण्डलीबाट निस्कने धातुहरू समेत पाइएका छन् । अनुसन्धानका सह–लेखक फ्रेडी सितासका अनुसार, धूम्रपान छोड्न भेप प्रयोग गर्ने धेरैजसो व्यक्तिहरू अन्ततः दुवै बानीमा अड्किने गर्छन् ।

उनका अनुसार, भेप र चुरोट दुबै प्रयोग गर्ने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम चार गुणा बढी हुने देखिएको छ । यद्यपि, यसबाट कति सङ्ख्यामा क्यान्सरका घटना हुनेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, किनकि दीर्घकालीन मानव अध्ययन आवश्यक रहेको बताइएको छ ।

“विद्युतीय चुरोट करिब २० वर्षअघि मात्रै प्रयोगमा आएको हो। यसको असर बुझ्न अझ धेरै समय कुर्नु हुँदैन,” सितासले भने । उनले नियामक निकायलाई धूम्रपानलाई क्यान्सरको कारण मान्यता दिन ढिलो गरिएको इतिहास दोहोरिन नदिन आग्रह गरेका छन् ।

Leave Your Comment

Related News