काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची सार्वजनिक गरिएको हो।नेप्सेका अनुसार अब ती कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप सेयर खरिद-बिक्री गर्न सक्नेछन् ।
नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् । सूचिमा ११ विकास बैंक परेका छन् र ६ विकास बैंक बाहिरिएका छन्। वित्त कम्पनीतर्फ ११ समेटिँदा ७ कम्पनी सूचिमा परेका छैनन्। लघुवित्त समूहबाट १७ कम्पनी, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि सूचिमा छन् । ऊर्जा क्षेत्रतर्फ २४ जलविद्युत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य ठहरिएका छन्। बीमा क्षेत्रअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समेटिएको छ ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा सुरु हुने जनाएको छ । एसोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै मार्जिन कारोबारका लागि योग्य ब्रोकरमार्फत उक्त सुविधा लगानीकर्तालाई उपलब्ध गराइने जानकारी दिएको हो। बैठकले मार्जिन कारोबारसम्बन्धी ब्रोकरहरूको कार्यप्रक्रिया समेत पारित गरेको छ।


