काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको प्रभाव खाडी क्षेत्रका वित्तीय बजारमा स्पष्ट देखिएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र अबुधाबी स्टक बजारमा ठूलो गिरावट आएको छ ।
युद्ध सुरु भएयता यूएईका सेयर बजारबाट करिब १२० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमेको छ । दुबई फाइनान्सियल मार्केट र अबुधाबी जेनेरल क्रमशः करिब १६ प्रतिशत र ९ प्रतिशतले घटेका छन्।
११ फेब्रुअरीमा ६ हजार ७५० विन्दुमा रहेको दुबई फाइनान्सियल मार्केट हाल घटेर करिब ५ हजार ४०० विन्दुमा झरेको छ । त्यस्तै, फेब्रुअरी १८ मा १० हजार ७०० विन्दुमा रहेको अबुधाबी जेनेरल इन्डेक्स अप्रिलमा झरेर करिब ९ हजार ६०० विन्दुमा कायम भएको छ ।
कतारको सेयर बजार पनि दबाबमा देखिएको छ । ११ फेब्रुअरीमा ११ हजार ५०० विन्दुमा रहेको कतार स्टक एक्सचेन्ज अहिले घटेर १० हजार विन्दुमा पुगेको छ । बहराइनको बजार पनि २ हजार ६० विन्दुबाट घटेर करिब १ हजार ९०० विन्दुमा झरेको छ भने कुबेतको बजार पनि क्रमशः ओरालो लाग्दै हाल करिब ८ हजार ४०० विन्दुमा पुगेको छ ।
तर, साउदी अरेबियाको बजारमा भने सकारात्मक प्रवृत्ति देखिएको छ । ताडावुल इन्डेक्स मार्च १ मा १० हजार ४०० विन्दुमा रहेकोमा अप्रिलमा बढेर ११ हजार २५० विन्दु पार गरेको छ।
यता, युद्धमा प्रत्यक्ष संलग्न इजरायलको सेयर बजारमा भने अपेक्षाकृत कम असर देखिएको छ। तेल अविभ स्टक एक्सचेन्जको टीए–१२५ सूचक मार्चमा ४ हजार ३०० विन्दुमा रहेकोमा हाल करिब ४ हजार विन्दुको आसपासमा कारोबार भइरहेको छ । इरानको सेयर बजार भने युद्धका कारण अनिश्चितकालका लागि बन्द गरिएको छ।
विशेषज्ञहरुका अनुसार यूएईको अर्थतन्त्रमा पर्यटन र हवाई सेवाको ठूलो योगदान रहेकाले युद्धका कारण उडान रद्द हुनु तथा क्षेत्रीय अस्थिरताले बजारमा प्रत्यक्ष असर परेको हो। युद्धका कारण हजारौं उडान रद्द भएका छन्, जसले दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबको रुपमा असर पुर्याएको छ ।
यद्यपि, विश्लेषकहरुले यसलाई दीर्घकालीन संकट नभई अल्पकालीन झट्का मात्र भएको बताएका छन्। उनीहरुका अनुसार युद्ध अन्त्य भएपछि बजारमा पुनः सुधार आउने सम्भावना उच्च छ ।
समग्रमा, इरान युद्धले खाडी क्षेत्रका अधिकांश सेयर बजारमा नकारात्मक असर पारे पनि केही बजारमा भने मिश्रित प्रवृत्ति देखिएको छ । साउदी अरेबिया र इजरायलका सेयर बजारमा इरान युद्धको प्रभाव अन्य खाडी देशहरुको तुलनामा कम देखिनुका पछाडि विभिन्न आर्थिक, संरचनात्मक र नीतिगत कारणहरु रहेका छन् ।
साउदी अरेबियाको अर्थतन्त्र तेलमा आधारित भएकाले विश्व बजारमा अस्थिरता आउँदा पनि उसले फाइदा लिन सक्छ । युद्धका कारण तेल आपूर्ति प्रभावित हुने सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने गर्छ, जसले साउदी अरेबियाको आम्दानी बढाउँछ ।
यही कारणले त्यहाँको बजारमा गिरावट आउनुको सट्टा वृद्धि देखिएको हो। लगानीकर्ताहरुले तेलबाट हुने नाफाको अपेक्षा राख्दा बजारमा सकारात्मक मनोविज्ञान कायम रहन्छ।
साथै, साउदी अरेबियाले पछिल्ला वर्षहरुमा आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास गरेको छ । ‘भिजन २०३०’ जस्ता कार्यक्रममार्फत गैर तेल क्षेत्रहरुमा लगानी बढाइएकाले बजार केवल एउटा क्षेत्रमा निर्भर छैन । यसले बाह्य झट्कालाई सहन सक्ने क्षमता बढाएको छ।
यता, इजरायलको सेयर बजारमा सूचीबद्ध धेरै कम्पनीहरु प्रविधि, रक्षा र नवप्रवर्तनसँग सम्बन्धित छन्, जसको प्रदर्शन युद्धको प्रत्यक्ष प्रभावभन्दा कम प्रभावित हुन्छ।
इजरायल लामो समयदेखि क्षेत्रीय द्वन्द्वसँग जुध्दै आएको देश भएकाले त्यहाँको वित्तीय प्रणाली र लगानीकर्ता मनोविज्ञान यस्ता जोखिमसँग अभ्यस्त भइसकेको छ। त्यसैले नयाँ द्वन्द्वले बजारमा अत्यधिक डर वा ठूलो गिरावट सिर्जना गर्दैन।
यता, दुवै देशमा सरकार र केन्द्रीय निकायहरुले बजार स्थिर राख्न आवश्यक कदमहरु चाल्ने क्षमता बलियो छ। नीतिगत हस्तक्षेप, तरलता व्यवस्थापन र लगानीकर्ता विश्वास कायम राख्ने उपायहरुले पनि बजारलाई ठूलो गिरावटबाट जोगाएका छन्।
यसका विपरीत, दुबई र अबुधाबी जस्ता बजारहरु पर्यटन, सेवा र अन्तर्राष्ट्रिय आवागमनमा बढी निर्भर भएकाले युद्धका कारण उडान अवरोध र क्षेत्रीय अनिश्चितताले ती बजारहरुमा प्रत्यक्ष असर परेको छ ।



