काठमाडौं । बाराको सिमरामा अवस्थित पाँचतारे ‘होटल इच्छा लिमिटेड’ अब अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री’को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। यस सम्बन्धमा होटल इच्छा र भारतको प्रतिष्ठित लेमन ट्री होटलबीच व्यवस्थापन हस्तान्तरण सम्झौता सम्पन्न भएको हो।
यससँगै लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने होटलहरूको संख्या तीन पुगेको छ। यसअघि काठमाडौंमा एक होटल र चितवनमा एक रिसोर्ट सञ्चालनमा रहेका छन् भने विराटनगरमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी भइरहेको छ। विराटनगरको भृकुटी चोकमा निर्माण गरिएको उक्त होटल आगामी बैशाखमा उद्घाटन गर्ने योजना छ।
सम्झौतापत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्। कार्यक्रममा होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा र प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल पनि उपस्थित थिए।
सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालन हुनेछ। यसले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय ब्रान्डको आगमनसँगै होटलको सेवा र गुणस्तर अझ सुधार हुने विश्वास व्यक्त गरिएको छ।


