CLI

एडीबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने

काठमाडौं । एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष २०२६ मा घटेर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यो वृद्धि दर अघिल्लो आर्थिक वर्ष २०२५ को ४.६ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा कम हो।

एडीबीको प्रमुख आर्थिक प्रतिवेदन एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) अप्रिल २०२६ अनुसार राजनीतिक अनिश्चितता, सेप्टेम्बरको आन्दोलन  तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण अर्थतन्त्रमा दबाब परेको उल्लेख गरिएको छ।

नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नो कोसोआले राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय परिस्थितिले आर्थिक गतिविधिमा सुस्तता ल्याउने बताएका छन् । उनले मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्य वृद्धि, पर्यटनमा कमी तथा विप्रेषण प्रवाहमा असर परेको उल्लेख गरे ।

प्रतिवेदन अनुसार, हालका चुनौतीहरू कम हुँदै गएमा आर्थिक वर्ष २०२७ मा आर्थिक वृद्धि दर बढेर ५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । यसमा आन्तरिक माग वृद्धि, जलविद्युत् निर्यात तथा पर्यटन क्षेत्रको सुधारले सहयोग गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०२६ मा मुद्रास्फीति ३.७ प्रतिशत रहने र २०२७ मा बढेर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

एडीबीले मध्यपूर्व द्वन्द्वका कारण नेपालको चालु खाता अधिशेषमा पनि असर पर्ने जनाएको छ। विप्रेषण र निर्यातमा मध्यम वृद्धि भए पनि तेलको मूल्य वृद्धि, आयात खर्च बढ्नु तथा पर्यटन आम्दानीमा गिरावटले अर्थतन्त्रमा दबाब पर्ने देखिएको छ ।

नेपालको आर्थिक अवस्था अझै उच्च अनिश्चिततामा रहेको र दीर्घकालीन रूपमा मध्यपूर्व द्वन्द्व लम्बिएमा, वित्तीय क्षेत्रका जोखिम र जलवायुजन्य विपद्ले थप चुनौती सिर्जना गर्न सक्ने एडीबीको निष्कर्ष छ।

Leave Your Comment

Related News