काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् । अस्पतालहरूले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था बुझ्न तथा सर्वसाधारणले भोग्नुपरेका समस्याबारे प्रत्यक्ष जानकारी लिन मन्त्री बिना पूर्व सूचना अस्पताल पुगेकी हुन् ।
अनुगमनका क्रममा मन्त्रीले अस्पतालको सरसफाइ, बिरामीको अत्यधिक चाप, लामो लाइन व्यवस्थापन (Queue Management), औषधिको अभाव तथा स्वास्थ्य बीमा प्रणालीमा देखिएका जटिलताबारे स्थलगत अवलोकन गरिन् ।
नागरिकहरूले स्वास्थ्य बीमाको सुविधा लिन झन्झट व्यहोर्नुपरेको तथा सामान्य उपचारका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको गुनासो मन्त्रीसमक्ष राखेका थिए। यी समस्याप्रति गम्भीर चासो व्यक्त गर्दै मन्त्रीले सम्बन्धित निकायलाई तत्काल सुधारका लागि निर्देशन दिइन् ।
उनले अस्पताल प्रशासनलाई सरसफाइमा विशेष ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध हटाउन स्पष्ट निर्देशन दिइन् ।
“सरकारी अस्पतालमा सेवा लिन आउने नागरिकले झन्झट होइन, राहत महसुस गर्नुपर्छ,” मन्त्रीले भनिन् । साथै, देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।


