काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । वानखेडे स्टेडियममा आइतबार राति भएको खेलमा आरसिबीले उत्कृष्ट ब्याटिङ र सन्तुलित बलिङको प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रनको विशाल योगफल तयार पार्यो। टोलीको ठूलो स्कोर बनाउन फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरे । साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन बनाए। त्यसपछि ब्याटिङ गरेका पाटिदारले २० बलमा ५ छक्का र ४ चौकासहित ५३ रनको आक्रामक इनिङ्स खेले। त्यसअघि विराट कोहलीले ३८ बलमा ५० रन बनाएर टोलीलाई मजबुत सुरुआत दिलाए। साल्ट र कोहलीले पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय २० रनको सानदार साझेदारी गरे। साल्ट र पाटिदारले छक्का र चौकाको वर्षा गर्दै मुम्बईका बलरमाथि दबाब बनाएका थिए। टिम डेभिडले नटआउट ३४ रन जोडे ।
मुम्बई ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल सान्टनर र सार्दुल ठाकुरले समान १ विकेट लिए। २ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले पनि राम्रो सुरुआत गरे पनि अन्तिमसम्म गति कायम राख्न सकेन। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि शेरफेन रदरफोर्डले ३१ बलमा ९ छक्का र १ चौकासहित अविजित ७१ रन बनाए ।
हार्दिकले २२ बलमा ६ चौका र १ छक्कासहित ४० रन जोडे। सूर्य कुमार यादवले २२ बलमा ३३, ओपनर रायन रिकेल्टनले २२ बलमा ३७ रन बनाए । अर्का ओपनर रोहित शर्मा १९ रनमा रिटायर्ड हर्ट भए । बलिङतर्फ आरसिबीका स्पिनरहरू प्रभावकारी देखिए। सुयश शर्माले महत्वपूर्ण २ विकेट लिए भने क्रुणाल पाण्ड्याले पनि किफायती बलिङ गर्दै मुम्बईलाई दबाबमा राखे।


