काठमाडौं । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति खातामा प्रदान गर्दै आइरहेको ब्याजदर घटेको छ । चैत, २०८२ को तुलनामा वैशाख, २०८३ मा १९ बैंकहरुको औसत ब्याजदर ४.४९४ प्रतिशतबाट घटेर ४.४ प्रतिशतमा झरेको छ । ब्याजदर ०.०९४ प्रतिशत विन्दुले घटेको हो ।
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार धेरैजसो बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने केही बैंकहरुले घटाएका छन् । १२ वटाले ब्याजदर यथावत राखेका छन् । सबैभन्दा बढी ब्याजदर कटौती हिमालयन बैंकले गरेको छ, जसले ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ ।
त्यसैगरी, सिटिजन्सले ०.३५ प्रतिशत विन्दु घटाएर ४.१५ प्रतिशत कायम गरेको छ । एनआइसी एसिया, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले पनि ०.२५ प्रतिशत विन्दुका दरले कटौती गरेका छन् । हाल सबैभन्दा उच्च ५ प्रतिशत ब्याजदर एनएमबि बैंकको रहेको छ भने अन्य बैंकहरु ४ प्रतिशतदेखि ४.७५ प्रतिशतको दायरामा सीमित रहेका छन् ।
बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार अत्याधिक तरलता, कर्जाको मागमा सुस्तताको कारण ब्याजदर घटेको हो । आगामी महिनामा पनि ब्याजदर स्थिर वा अझै घट्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।



