उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात सरकारको प्राथमिकता: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा अवसरमा मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि संयुक्त अधिराज्य प्रमुख विकास साझेदारको रूपमा रहेको र संयुक्त अधिराज्यले नेपालमा मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायता लगायतका क्षेत्रमा गरेको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको बताए ।

भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गइरहेको सन्दर्भमा सोको दिगो र भरपर्दो रूपमा संक्रमणकालीन व्यवस्थापन गर्नु आवश्यक रहेको बताए । यसका लागि नेपाली उद्योग व्यवसायको विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न र नेपालको निर्यात व्यापारमा पर्न सक्ने असर न्यूनीकरण गर्दै प्राप्त अवसरको सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गरे । मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि नेपाल सरकारको प्राथमिकताका क्षेत्रको रूपमा रहेको बताए ।

छलफलको क्रममा मन्त्री भण्डारीले संयुक्त अधिराज्यले Developing Countries Trading Scheme  DCTS को शुन्य भन्सार महशुलको अधिकतम लाभ लिन यस सम्बन्धी सचेतना एवम् उद्यमी तथा निर्यात व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोगको लागि अनुरोध गरे । साथै, उनले जडिबुटी, पश्मिना, चिया, तयारी पोशाक, गलैंचा लगायतका नेपालको प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको निर्यातमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

सो अवसरमा राजदूत फेनले मन्त्री भण्डारीलाई पुन: नियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, उनले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरे । उनले संयुक्त अधिराज्यको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको बताए । उनले नेपालसँग थप साझेदारीका कार्यक्रममा जोड दिँदै दुई मुलुक बीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

भेटघाटको क्रममा संयुक्त अधिराज्यको अनुदान सहयोगमा सञ्चालन हुने ] Nepal in Business NIB कार्यक्रम कार्यान्वयनको तयारीको अवस्था र यसले साना तथा मझौला उद्योगहरुलाई पुरÞ्याउने सहयोग र नयाँ सम्भावित कार्यक्षेत्रको विषयमा समेत छलफल भयो ।

भेटघाटको अवसरमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी र जीवलाल भुसाल लगायत अन्य अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारी एवम् संयुक्त अधिराज्यको नेपालस्थित राजदूताबासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार